२८ भदौ, चरिकोट
ग्रामीण विकास टुकी संघ दोलखाले आज ४४ औँ टुकी दिवस मनाएको छ । दोलखा जिल्लामा ४४ बर्ष अघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो । गरिबीको रेखामुनी रहेका कृषकलाई ब्यवसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गर्दै यो दिवस मनाइएको हो ।
स्थापना कालदेखि हालसम्म प्रतिबद्ध टुकीहरुको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभर करिब ६ सय टुकीहरु सक्रिय भएको १४ बर्षपछि विक्रम संवत २०४८ सालमा जिल्लामा संघको विधिवत गठन गरिएको थियो । डा. के के पाण्डेले प्रवर्तन गर्नुभएको विकासको टुकी मोडल नेपालमा निकै सफल विकास नमुनाको रुपमा चिनिन्छ ।
टुकी संघ मार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शीता अपनाउदै आइएको अध्यक्ष रोचकुमारी चौलागाईले दावी गर्नुभयो । जिल्लाका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने र टुकी अभियान विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने जानकारी अध्यक्ष चौलागाईले दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला सुआहारा कार्यक्रमका संयोजक लवहरी बूढाथोकीले टुकी जरादेखि पलाएर मौलाएको बलियो रुख जस्तै भएकोले यो निकै शक्तिशाली संगठन भएको बताउनुभयो । बूढाथोकीले टुकी अभियान नेपालका लागि निकै फलदायी भएकाले यो अन्य जिल्लामा पनि विस्तार गर्दै देशभर अभियान सञ्चालन गर्न सबैले पहल गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पूर्व अध्यक्ष बेनी बहादुर कार्की, जयप्रसाद दहाल, महासचिव मकरध्वज पाख्रीन, कोषाध्यक्ष बद्री कटुवाल लागायत मुकुन्द दहाल, कल्पना खड्का, रुपेन लामा, रामचन्द्र श्रेष्ठ, पदम विक्रम सापकोटाले सम्पूर्ण टुकीहरुको विकास र उन्नतिको कामना गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्