मुख्य समाचारसमाचार

पीडा र त्रासमै विते दिन

दोलखा/२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्प पछिका ६ बर्ष डिल्ली भुजेलको लागि पीडा र त्रासको बर्ष बन्यो । दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ७ घ्याङ पाखाभित्ता टोलका डिल्ली भुजेलको घर भुकम्पले चर्किएर बस्न नहुने बनेको भएपनि लाभग्राहिको सूचिमा नाम नआएपछि उनी त्यहि घरलाई टालटुल गरेर बस्न बाध्य बनेका छन् ।
आफ्नो खर्चले नयाँ घर बनाउन आर्थिक अवस्था सवल छैन, लाभग्राहिको सूचिमा नाम नआएपछि सरकारको तर्फबाट पनि पैसा आएन त्यसैले बाध्य भएर चर्कीएकै घरलाई टालटुल गरेर बसेको छु – भुजेलले भने । भुकम्पको साना तिना धक्कामात्र हैन सडकमा मोटर गुड्दा समेत घर हल्लीने भएकोले विनाशकारी भुकम्पको ६ बर्षको अवधि त्रास र पीडामै वितेको भुजेलको गुनासो छ ।
वडा नम्बर ३ घ्याङ माझगाँउका रवि लामाको पीडा पनि भुजेलको भन्दा कम छैन । लाभग्राहिको सूचिमा नाम नआएपछि पुरानै घर टालटुल गरेर बसेका रविको परिवार भुकम्पको सानो तिनो झड्का र ठूलो बर्षात हुदा समेत नजिकैको टहरामा बस्ने गर्छन् ।
२०७२ सालको विनाशकारी भुकम्प पछि करिब एक बर्षसम्म टहरामा वितायौ । पुष माघमा भने चिसोका कारण बाध्य भएर भुकम्पले चर्किएकै घरमा बस्न थालेका छौ – रविले भने । नयाँ घर बनाउन लाभग्राहि सुचिमा नाम नआएपछि सम्भव भएन त्यसैले यो ६ बर्षको अवधिमा सानो तिनो कम्पन र बर्षाको समय टहरामा बस्ने र अरुबेला टालटुल गरेको घरमै जाने गरेर विताएका छौ– उनले भने ।
दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ३ को माझगाँउ, पाखाभित्ता, काँडे, तल्लो घ्याङ, भञ्ज्याङ लगायतका करिब एक सय ५० घर परिवारको नाम लाभग्राहिको सूचिमा परेको छैन । उनीहरु मध्य अधिकांशले भुकम्पले चर्किएकै घरलाई टालटुल गरेर बसेका छन् ।
पटक पटक पुनरावेदन गर्दा पनि लाभग्राहिको सूचिमा नाम नआउपछि घ्याङका केहि भुकम्प पीडितले भने आफ्नै खर्चमा नयाँ घर बनाएका छन् । माझगाँउका नेत्रबहादुर तमाङ धेरै प्रयास गर्दा समेत लाभग्राहिको सुचिमा नाम नपरे पछि आफुले आफ्नै खर्चमा नयाँ घर बनाएको तर अझै पनि आर्थिक समस्या भएका धेरै भुकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य भएको बताउछन् ।
वडा नम्बर ३ घ्याङका भुकम्प पीडित धेरैको घर पूर्णरुपमा नभत्कीएको कारण लाभग्रहिको सूचिमा नाम नआएको हुनसक्ने स्थानियको अनुमान छ । भुकम्प लगतै प्राविधिक आएर चर्किएर बस्न नहुने घरको बिभिन्न स्थानको फोटो सहितको विवरण लगेको भएपनि लाभग्राहिको सूचिमा नाम नआउनु प्राविधिकहरुको कमजोरी रहेको स्थानियको आरोप छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष एवं मेलुङ गाँउपालिकाका प्रवक्ता हिरा थोकर वडाले वास्तविक भुकम्प पीडितहरुको नाम लाभग्राहिको सूचिमा नपरेपछि पुनरावेदनको लागि सहयोग गरेको तर जतिसुकै प्रयत्न गर्दा पनि नाम नआएको बताउछन् । भुकम्प पीडितहरुलाई भवन निर्माणमा सहयोग गर्ने कुरामा वडा या पालिकाको अधिकार नभएकोले पनि समस्या भएको वडा अध्यक्ष थोकरको गुनासो छ ।
मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ गाँउपालिकाको सबै वडामा गरी झण्डै तीन सय ५० जना जतिको नाम लाभग्राहिको सुचिमा नआएकोले उनीहरु मध्यका अधिकांश भुकम्पले चर्काएकै घरमा बस्न बाध्य बनेको बताउछन् । गाँउपालिकाले वास्तविक भुकम्प पीडितको नाम लाभग्राहिको सूचिमा पार्न पटक पटक प्रयास गरेको भएपनि सम्भव नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । संघिय सरकारले वास्तविक भुकम्प पीडितको पहिचान गर्ने जिम्मेवारी स्थानिय सरकारलाई दिएर अहिले देखिएको समस्या समाधानको लागि पहल गर्नु पर्ने गाँउपालिका अध्यक्ष श्रेष्ठ बताउछन् ।
जिल्ला आयोजना कार्यान्वयन ईकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) दोलखाका टिका जोशीका अनुसार दोलखामा लाभग्राहिको सूचिमा नपरेका आठ हजार पाँच सय ७४ जना भुकम्प पीडित रहेकोमा चार हजार तीन सय ४३ जनाले पुनरावेदन गरेको र त्यसमा पाँच सय भुकम्प पीडितको निर्णय आएको छ । निर्णय आएका पाँच सय जनामा १६ जनाको लाभग्राहि सुचिमा नाम समावेश भएपनि बाँकीको भने कायम नभएको जोशीले बताए ।

सम्बन्धित समाचार