दोलखा/होटल संघ (हान) नेपाल बागमती प्रदेश र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिलाई दोलखा जिल्लालाई बागमती प्रदेशको पर्यटन राजधानि घोषणा गर्न प्रस्तावपत्र बुझाएको छ ।
आईतवार पार्टी कामको सिलसिलामा दोलखा सदरमुकाम चरिकोट आएका बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिलाई होटल संघ (हान) नेपाल बागमती प्रदेशका सदस्य विनोद जिरेल र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त प्रस्ताव पत्र बुझाएका हुन् ।
संयुक्त प्रस्ताव पत्रमा दोलखा जिल्लालाई बागमती प्रदेशको पर्यटन राजधानि घोषणा गर्ने नीतिगत निर्णयका लागि आवश्यक प्रकृया अगाडि बढाउनु पर्ने, पर्यटन राजधानि घोषणाको संभाव्यता अध्यन गर्न प्रदेश सरकार, स्थानीय तह, पर्यटन व्यवसायी, विज्ञ तथा सरोकारवाला सहितको उच्च स्तरीय अध्यन समिति गठन गर्नुपर्ने, दोलखाका प्रमुख पर्यटकीय गन्तव्यहरु लाई जोड्ने सडक, पदमार्ग, सञ्चार, खानेपानी, सरसफाई तथा पर्यटन पूर्वाधारको विकासलाई प्राथामिकता दिनुपर्ने, दोलखामा पर्यटन सूचना केन्द्र तथा पर्यटन सहायता केन्द्र स्थापना गरिनुपर्ने, होटल तथा पर्यटन व्यवसायीलाई सहुलियत पूर्ण ऋण, सीपमूलक तालिम र व्यवसाय प्रवद्धनका कार्यक्रम सञ्चालन गरिनुपर्ने, दोलखालाई बागमती प्रदेशको पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न दिर्घकालिन गुरु योजना निर्माण गर्नुपर्ने लगायतका मागहरु प्रस्तुत गरिएको छ ।
दोलखा जिल्लामा कालिञ्चोक, भीमेश्वर मन्दिर, लप्ची गुम्बा, विगु गुम्बा, शिव– पार्वतीको वासस्थान गौरीशङ्कर (कैलाश पर्वत) लगायतका बिभिन्न ऐतिहासीक मठ– मन्दिर, च्छो– रोल्पा हिमताल, शैलुङ, चेर्दुङ, रोल्वालीङ उपत्यका, हनुमन्ते डाँडा लगायतका प्राकृतिक केन्द्रहरु रहेको प्रस्ताव पत्रमा उल्लेख छ । त्यसैगरी दोलखामा पर्वतारोहण, पदयात्रा, साईकिलिङ, स्की लगायतका साहसिक पर्यटनको समेत प्रयाप्त संभावना रहेको प्रसताव पत्रमा उल्लेख छ ।
प्रस्ताव पत्रमा होटल संघ (हान) नेपाल बागमती प्रदेश र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले दोलखाको पर्यटन विकासको लागि प्रदेश सरकारसंग मिलेर जुनसुकै काम गर्न तयार रहेको प्रतिवद्धता समेत जनाईएको छ ।
प्रस्ताव पत्र बुझ्दै बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले दोलखा जिल्ला धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्र भएकोले यसलाई बागमती प्रदेशको पर्यटकीय राजधानि बनाउन सम्भावना रहेको बताए । उनले दोलखाको पर्यटन प्रवद्धनको लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्