काठमाडाैं/ चीन सरकारले नेपाललाई तेस्रो चरणको आपत्कालीन राहत सामग्री उपलब्ध गराएकाे छ । चीनले नेपाललाई उपलब्ध गराएको तेस्रो चरणको आपत्कालीन राहत सामग्री चिनियाँ वायुसेनाको Y-20 ठूलो मालवाहक विमानमार्फत काठमाडाैं ल्याइएको हाे।
चीनले नेपाललाई उपलब्ध गराउने तेस्राे चरणको सहयोगी विशेषज्ञ टोलीका रूपमा १० जना फरेन्सिक (शव पहिचान तथा परीक्षण) विज्ञसमेत विमानसँगै काठमाडौं आइपुगेका छन्।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन लगायतले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउँदै विशेषज्ञ टोलीको स्वागत गरेका थिए।
तेस्राे चरणमा नेपाललाई उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीमा शव संरक्षणका लागि प्रयोग हुने शवपेटिका/कोल्ड स्टोरेज सामग्री, महामारी नियन्त्रण तथा रोकथामका सामग्री, दैनिक जीवनयापनका आवश्यक सामग्री लगायत नेपालले तत्काल आवश्यक ठानेका वस्तुहरू रहेका छन्।
चिनियाँ फरेन्सिक विशेषज्ञहरूले तत्काल काम सुरु गरी विपदमा ज्यान गुमाएकाहरूको पहिचान गर्न नेपाली पक्षलाई सहयोग गर्नेछन्।
चीनले नेपाललाई उपलब्ध गराएको तेस्रो चरणको आपत्कालीन राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक बेली ब्रिज (अस्थायी फलामे पुल) पनि समावेश छ। बेली ब्रिज निर्माण तथा जडानका लागि आवश्यक पहिलो चरणका विशेष उपकरणहरू भने स्थलमार्गबाट नेपाल–चीन सीमा क्षेत्रमा रहेको लिजी नाका हुँदै नेपालतर्फ ल्याई छुट्टै हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्