दोलखा/ऐतिहासीक सांस्कृतिक सहर दोलाखमा गाईजात्राको भोलिपल्ट (भदौ १४ गते शनिवार) बाट पाँच दिनको लागि सुरु भएको भैरव– कुमारी जात्रा विहिवार राति यो बर्षको लागि अन्तिम दिन प्रर्दशन गरिदै छ ।
मानिस खाने देवीलाई तान्त्रीक विद्याबाट नियन्त्रण गरेपछि दोलखामा सुरु भएको भैरव– कुमारी जात्रा पाँच दिनमा दोलखा बजारको बिभिन्न मठ– मन्दिर रहेको स्थानमा प्रर्दशन गरिदै आएको छ ।
दोलखा सहरमामात्र प्रर्दशन गरिने भैरव– कुमारीको दर्शन र पुजा गर्दा सन्तान प्राप्ति, रोगव्याधि नलाग्ने र सोचेको काम पुरा हुने जनविश्वास रहदै आएको स्थानीय शिवजी प्रधान बताउछन् । जात्राको अवधिमा मनोकांक्षा पुरा होस भन्दै महिलाहरु ब्रत समेत बस्ने गरेको स्थानीयको भनाई छ । जात्राको सुरुवात कैलेदेखि भयो भन्ने एकिन तीथि थाहा नभएपनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको सुरुवात भएको जनविश्वास रहेको संस्कृतका अध्यता स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए । केही– केहीले भने मल्लकालिन राजा हरसिंह देवको पालोबाट भैरव– कुमारी जात्रा सुरु भएको विश्वास गर्दै आएको पनि श्रेष्ठले बताए ।
किंवदन्ति अनुसार दोलखा राज्यमा दुङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रीक दाजुभाइ थिए । उनीहरु दैनिक तामाकोशी नदिमा गएर त्यहाँको जल (सुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चडाउथे । यो क्रममा तान्त्रीक दाजु– भाइले तामाकोशी किनारमा तीन दिदी– बैनी खेलीरहेको देखे । तान्त्री दाजु– भाइले उनीहरु भगवती भएको थाहा पाएपछि उनीहरुलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए ।
दोलखा बजारमा ल्याएपछि उनीहरुकै चाहना अनुसार जेठी त्रिपुरा सुन्दरी भगवतीलाई दोलखामै, माईली कालिञ्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिञ्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसंग दोलखामै राखियो ।
जेठी र कान्छी दिदी– बैनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले । मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावको बालकुमारीले मानिस खानेगरेको थाहाँ पाएपछि तान्त्रीकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाए खोजे । यही क्रममा तान्त्रीक भाइ विन्दुले बालकुमारी स्थान (कोविदेउ) मा सिढी सहितको एउटा ठूलो खाल्टो बनाएर बालकुमारीलाई फकाएर उनीसंग लुकामारी खेल्न थाले ।
लुकामारी खेल्दा विन्दुले तान्त्रीक विद्याबाट आफुलाई पिठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रिले बाँधिदिए । अनि आफु पिठोको सिक्रि फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किंवदन्ति प्रचलनमा रहेको स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ ।

बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुनलागिन र तान्त्रीकले बर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउदा फेरी मानिस खाने डरले भैरवलाई अघि लगाएरमात्र जान दिईएको विश्वास गरिन्छ । सोही अनुसार भैरव– कुमारी जात्रा सुरु भएको स्थानीयको भनाई छ । भैरव भीमेश्वरको प्रतिक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् । यो जात्राको क्रममा भैरव– कुमारी सहित १३ जना सेनामेना समेत हुने गरेका छन् । सुरु– सुरुमा तीन दिन प्रर्दशन गरिने यो जात्रा अहिले पाँच दिन प्रर्दशन गर्न लागिएको स्थानीय भरत नारायण प्रधानले बताए ।
किंवदन्ति अनुसार भैरव– कुमारी जात्रा पहिलो दिन भुतले हेर्ने, दोस्रो दिन देवी देवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्छ । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको जोशीको भनाई छ । भैरव– कुमारी जात्रामा भैरव, कुमारी र अन्य सेनामेना गरी १३ जनानै शिवभक्ति थरका मानिसमात्र नाच्नुपर्ने प्रचलन रहेको छ ।
तस्विर साैजन्य- शिवजी प्रधान/ दाेलखा

प्रतिक्रिया दिनुहोस्