काठमाडौँ/चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउदै चीन–नेपाल सीमा क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीजन्य विपद्प्रति सहानुभूति व्यक्त गरेका छन् ।
राष्ट्रपति सीले सन्देशमा भनेका छन्– हालै चीन र नेपालबीचको सीमा क्षेत्रमा पर्ने जिलोङ–रसुवागढी नाका क्षेत्रमा भएको गम्भीर पहिरो तथा बाढीजन्य विपद्ले ठूलो मानवीय क्षति, मानिसहरू बेपत्ता हुनुका साथै व्यापक भौतिक क्षति पु¥याएको छ । उनले चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट विपद्मा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा विपद् प्रभावित क्षेत्रका जनताप्रति हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गरेका छन् ।
राष्ट्रपति सीले चिनियाँ पक्षले बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार, प्रभावित मानिसहरूको स्थानान्तरण तथा व्यवस्थापन र घाइतेहरूको उपचारलाई तीव्रताका साथ अघि बढाइरहेको बताएका छन् । साथै, मानवीय क्षतिलाई सकेसम्म कम गर्न र थप विपद् हुन नदिन आवश्यक सावधानी अपनाइरहेको उनले उल्लेख गरेका छन् ।
उनले चीन र नेपाल पहाड र नदीले जोडिएका तथा साझा भविष्य भएका छिमेकी मुलुक हुन् भन्दै चिनियाँ पक्ष नेपाललाई उद्धार तथा राहत कार्यमा सक्रिय सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म आवश्यक सहयोग तथा समर्थन उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
दुवै देशका जनताले हातेमालो गर्दै चाँडै नै यस विपद्लाई परास्त गरी आफ्नो घर तथा समुदायको पुनर्निर्माण गर्न सफल हुने विश्वास राष्ट्रपति सीले व्यक्त गरेका छन् । घट्ना भएकै दिन, चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना तथा सहानुभूति सन्देश पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्