अर्थ र ब्यापारकृषि र सहकारीमुख्य समाचार

आलुमा डडुवा रोग देखिएपछि शैलुङका किसान चिन्तित

दोलखा/आलुको लागि देशैभरी चिनिएको दोलखाको शैलुङ क्षेत्रका किसानहरु अहिले चिन्तित छन् । आलु खन्ने बेलामा बोट ओईलिएको र पात सुक्ने समस्या देखिएपछि उत्पादन घट्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ६ सदुङका स्थानीय किसान तारा बहादुर श्रेष्ठ आलुको बोटमा समस्या देखिएकोले उत्पादन घट्ने चिन्ताले पिरोलेको बताउछन् । विगत बर्षहरुमा आफु र घर– परिवारका अन्य सदस्यहरुले १०÷१२ लाखसम्मको आलु बिक्रि गर्दै आएकोमा यो बर्ष ५÷६ लाखको बिक्रि गर्न पनि मुश्किल देखिएको तारा बहादुरको भनाई छ ।

आलु खन्ने बेला भएको छ, तारा बहादुरले भने– तर बोट ओईलिएको र माटो कोट्याएर हेर्दा आलुको दाना समेत सानो देखिएकोले उत्पादन घट्ने पक्का छ । यो बर्ष गत बर्षहरुको भन्दा आधानै उत्पादन घट्ने अवस्था देखिएको उनले बताए ।

वडा नम्बर– ६ सदुङकै अर्को किसान कुमारी तमाङ यो बर्ष पानी धेरै परेको र असिनाले समेत नोक्सानी गरेकोले आलु उत्पादन घट्ने बताउछिन् । दिन– प्रतिदिन महङ्गी अकाशीदै गएको तर आलु उत्पादन भने घट्ने अवस्था बनेकोले पारिवारीक गुजारामै समस्या हुने अवस्था देखिएको कुमारी बताउछिन् ।

यो बर्ष आलुमात्र नभै शैलुङ क्षेत्रमा काउली, बन्दा, गाँजर लगायतका तरकारी बालिमा समेत समस्या देखिएको उनले बताईन । सेतो मुलामा भने अहिलेसम्म समस्या नदेखिएको कुमारीको भनाई छ ।

शैलुङ क्षेत्रमा विशेष गरी रोजिटा जातको आलु लगाउने गरिएको छ । केहीले भने निलो, खुमल रातो लगायतका जातको आलुसमेत लगाउने गरेका छन् । यो बर्ष धेरैले रोजिटाको सट्टा खुमल रातो आलु लगाएकोले समस्या आएको हो की भन्ने आशंका गरिएको स्थानीय सेतीमाया तमाङ बताउछिन् ।

आलुबाली विकास केन्द्र निगालेका सुचना अधिकारी बालि संरक्षण अधिकृत राजन धमनीया यो बर्ष शैलुङ लगायत पहाडी भेगका धेरै क्षेत्रमा आलुमा समस्या देखिएकोले उत्पादन घट्ने अवस्था रहेको बताउछन् ।

अहिलेको समस्या आलुको जातको कारणले नभै अत्यधिक पानी परेर डडुवा रोग देखिएकोले भएको आलुबाली विकास केन्द्र निगालेका सुचना अधिकारी बालि संरक्षण अधिकृत धमनीयाले बताए । डडुवा रोगका कारण यो बर्ष ४० प्रतिशतसम्म उत्पादनमा कमी आउनसक्ने अनुमान गरिएको धमनीयाको भनाई छ ।

शैलुङ क्षेत्रका किसानले अघिल्ला बर्षहरु मा २÷३ लाखदेखी १५÷२० लाखसम्मको आलु बिक्रि गर्दै आएका छन् । गतबर्ष शैलुङ क्षेत्रबाटमात्र झण्डै ४० करोडको आलु निर्यात भएको स्थानीय किसानहरुको भनाई छ । तर यो बर्ष भने २०÷२५ करोडको आलु पनि निर्यात नहुने अवस्था देखिएको शैलुङ गाउँपालिका वडा नम्बर– ३ ढुङ्गेका किसान पूर्ण बहादुर खड्का बताउछन् ।

सम्बन्धित समाचार