कला / साहित्यमनोरन्जन

“तामाकोशी सललल” गीत सार्वजनिक

काठमाडाैँ/दोलखा जिरी ८ जन्मिनुभएका समाजसेवी बिबी फुँयालको सिर्जनामा दोलखाको मौलिकता, कला र सांगीतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले “तामाकोशी सललल” बोलको गीत सार्वजनिक भएको छ । हिजो एयरपोर्ट होटलमा भएको एक भव्य कार्यक्रमबीच गीतको भिडियोसहित बिमोचन गरिएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार तथा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा दोलखाका प्राज्ञिक व्यक्तित्व एवं साहित्यकार टेक बहादुर जिरेलले जिरीको सुगन्धलाइ गीतसंगीतमार्फत फैलाउने प्रयास सराहनीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले आफूले पढाएको विद्यार्थीको प्रगति र जन्मथलोप्रतिको चासोले आफूलाइ गौरवान्वित बनाएको बताउनुभयो । उहाँले बीबी फुयाँलको बाल्यकाल र संघर्षका दिन पनि सम्झिनुभएको थियो । कार्यक्रममा वौद्धिक व्यक्तित्व राजिव सेढाईंले दोलखाका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विशेषताबारे प्रस्तुति दिनुभएको थिए। त्यस्तै गीतका सर्जक ,समाजसेवी तथा पर्यटन प्रवर्द्धक बीबी फुयाँलले आफ्नो यो पहिलो सिर्जनामार्फत दोलखा र जिरीलाइ चिनाउने प्रयास रहेको बताउनुभयो ।

कार्यक्रममा दोलखा जन्मिनुभएका सुप्रसिद्ध वरिष्ठ कलाकार कुमार बस्नेत र पूर्व विद्यार्थीको हैसियतबाट सम्मानस्वरुप जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका टेक बहादुर जिरेललाई माला, दोसल्ला र ताम्रपत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानपछि कलाकार कुमार बस्नेतले नेपाली मौलिक गीत–संगीतको संरक्षण आवश्यक रहेको बताउनुभयो। जिरीले आफूलाइ पहिलोपटक सम्झिएपनि आफ्ना गीतमार्फत पहिल्यै सम्झिएको भन्नुहुँदै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

साहित्यकार सुशिला खड्का हसिनाले कार्यक्रमले दोलखालीबीचको सम्बन्धलाइ पुनर्ताजगी गर्ने काम गरेको बताउनुभयो । कल्याण सिंह र सुनिता थेगिमको स्वर रहेको गीतलाइ बिबी फुयाँलकै युट्युब च्यानल बिबी डिजिटलमार्फत हेर्न सकिन्छ । गीतमा जिरीसंगै दोलखाका अन्य प्रसिद्ध पर्यटकीय स्थलहरु पुगेर छायांकन गरिएको छ । उक्त गीतमा अहिलेका चर्चित कलकार बद्रीप्रसाद तिवारी र सोल गुरुङले अभिनय गर्नुभएको छ ।

सम्बन्धित समाचार