दोलखा/उच्च पहाडी भेगमा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक क्षेत्रमा बुधवार यो बर्षको पहिलो हिमपात भएको छ । बुधवार विहान झण्डै एक घण्टा हिमपात भएर रोकिएको र साँझमा पुनः हिमपात भएको स्थानीयले बताएका छन् ।
तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा बुधवार विहान नौ बजेतिर झण्डै एक घण्टा हिमपात भएको र साँझ ४ः४५ बाट पुनः हिमपात सुरु भएको कालिञ्चोक कुरीमा रहेको होटल सुनपातीका बिमल ओझाले बताए ।
बर्षकै पहिलो हिमपात भएकोले पर्यटकहरु निक्कै रमाएको ओझाले बताए । साँझमा पनि चिसोको पर्वाह नगरी पर्यटकहरु हिउँमा रमाई रहेका छन्, ओझाले भने– कालिञ्चोकमा यो बर्षको पहिलो हिमपात भएकोले पनि सबै खुशी भएका छन् ।
विगत बर्षहरुमा कालिञ्चोकमा पुष– माघ देखि फागुन अन्तिमसम्मै हिमपात हुने गरेकोमा केही बर्षदेखि भने बर्षमा २÷४ पटकमात्र हिमपात हुने गरेको स्थानीय बताउछन् ।
कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको बिभिन्न ठाँउ र भारतबाट समेत पर्यटकले चासो दिन थालेको पर्यटन व्यवसायी एवं होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।


तस्विर साैजन्य- बिमल आझा / हाेटल सुनपाती, कालिञ्चाेक

प्रतिक्रिया दिनुहोस्