दोलखा/आगामी फागुन– २१ गतेको लागि घोषित निर्वाचनमा दोलाखबाट प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेबाट पूर्व मन्त्री पार्वत गुरुङले मनोनयन दर्ता गराएका छन् । नाराजुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका गुरुङले दिउँसो करिब १ बजे उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि गुरुङसंगै पूर्व मन्त्री एवम् एमाले केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य रचना खड्का, उर्मिला सुनुवार, श्याम कुमार वस्नेत, बागमति प्रदेश सरकारका बन मन्त्री भरत बहादुर केसी, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, पूर्व जिविस सभापति लालकुमार केसी, राष्ट्रय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ लगायतका नेता– कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मनोनयन दर्ता गराएका छन् । नाराजुलुस सहित दिउँसो करिब ४ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर शिवाकोटीले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि शिवाकोटीसंगै केन्द्रीय सदस्य एवम् बागमति प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेता तारा कोईराला, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर लगायतका नेता– कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट बागमति प्रदेश सरकारका पूर्व बन तथा वातावरण मन्त्री विशाल खड्काले मनोनय दर्ता गराएका छन् । उनले करिब २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । खड्काको मनोनयन दर्ताका लागि राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, पूर्व सांसद गंगा कार्की, पूर्व राज्यमन्त्री देवी खड्का लगायतका नेता– कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

फागुन २१ को निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता जगदिश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । ठूलो संख्यामा नेता– कार्यकर्ता सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका खरेलले करिब ११ः३० बजे मनोनयन दर्ता गराएका हुन् । खरेलसंग रास्वपा दोलखाका अध्यक्ष दिनेश वस्नेत लगायत मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रविण कुमार थोकर, नेपाल मजदुर किसान पार्टीबाट विमला श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट निमा दोर्जे लामा, मङ्गोल नेशनल अर्गनाईजेशन पार्टीबाट कुमार तमाङले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
निर्वाचनको लागि दोलखाबाट १४ वटा राजनीतिक दल र १९ जना स्वतन्त्र गरी ३३ जनाले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्