दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ लामाबगर स्थित ठोङठोङका स्थानीय ढुङ्गाको भीरमा त्रासको दैनिकी विताई रहेको बताउछन् । प्राकृतिक रुपमा सुन्दर रहेको यो गाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाई छ ।
झण्डै १५ बर्ष अघि र २०७३ सालको पहिरोले गाउँका घरहरु बगाएपछि धेरैले गाँउ छोडेको तर आफु लगायत केही परिवार भने आर्थिक बाध्यताकै कारण दैनिक त्रास व्यहोरेरै पनि गाउँमै बस्न बाध्य भएको स्थानीय लाल बहादुर तमाङले बताए ।
पहिरोले अड्कीएका भीरको ढुङ्गाहरु संगै ठोङठोङका तीन टोलमा अहिले १४ घरधुरीका परिवार वस्दै आएका छन् । गाउँमा पहिरो खस्नु अघि ठोङठोङको तीन टोल ठोङठोङ, बैबुङ र कातोङमा ४२ घर धुरी रहेको स्थानीय बताउछन् । पहिरो पछि धेरै घर परिवार लामाबगर, गोंगर, सिंगटी, जगत र चरिकोट स्थानान्तरण भएको स्थानीयको भनाई छ ।
अहिले ठोङठोङमा पाँच घर, बैबुङमा सात घर र कातोङमा दुई घर गरी १४ घर परिवारमात्र रहेको स्थानीय लाल बहादुर तमाङले बताए । गाउँमा पहिरोले क्षति गरेपछि पैसा हुनेहरु अन्यत्र जमिन किनरे बसाई सरे हामी केही परिवार भने बाध्यताबस यतै थन्किएका छौ– लाल बहादुरले भने ।
गाउँमा खानेपानीको समस्यासंगै विद्यालय समेत टाढा रहेकोले बालबालिका पढाउन दुई घण्टाको दूरीमा पर्ने लामाबगर लैजाने बाध्यता रहेको ठोङठोङ बैबुङका स्थानीय रिक्साङ तमाङले बताए । लामाबगरमा पनि कक्षा पाँचसम्म मात्र रहेकोले त्यसपछि जगत वा चरिकोट राखेर पढाउनु पर्ने रिक्साङको भनाई छ । आर्थिक अभावले अन्यत्र लान नसकिए बालबालिकाले कक्षा पाँच पछि विद्यालय छोड्नुपर्ने अवस्था रहेको उनले बताए ।

गाँउ नजिक स्वास्थ्य चौकी समेत नभएकोले कोही विरामी भै हाले सवारी साधन नपाएको अवस्थामा बोकाएर सिंगटीसम्मै लानुपर्ने स्थानीय चरिमाया तमाङले बताईन । लामाबगरमा माथिल्लो तामाकोशी आयोजनाको ड्याम रहेकोले सिंगटीबाट लामाबगरसम्म सडक विस्तार भएपछि अहिले भने यातायातको सुविधा पाउन सकिएको स्थानीयको भनाई छ । अहिले गाउँबाट आधाघण्टा हिडेपछि यातायात पाउन सकिने चरिमाया तमाङले बताईन ।
गाउँमा आलु, कोदो र मकैमात्र फल्ने र त्यो पछि तीन महिना भन्दा बढी खान नपुग्ने भएकोले जीवनशैली निक्कै असहज रहेको रिक्साङ बताउछन् । बर्षामा पहिरोको त्रासका कारण रातभरी अनिदै रहनु पर्छ त्यसमाथि गाउँमा उब्जनी समेत नहुने भएकोले गुजारा गर्नै कठिन रहेको रिक्साङको भनाई छ ।
गाउँमा केहीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायत उत्तरका अन्य हाईड्रो पावरमा मजदुरी गरिरहेकोले विहान– बेलुकाको गुजारा चलाई रहेको स्थानीय बताउछन् ।
विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तमाङ ठोङठोङमा खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या रहेको स्वीकार गर्दै त्यसको समाधानको लागि वडाले सक्दो पहल गरिरहेको बताउछन् । खानेपानीको लागि पटक– पटक पालिका र वडाबाट प्रयत्न भएको उल्लेख गर्दै यो पटक वडालेनै पाँच लाख छुट्टाएकोले ठोङठोङमा पानी पुग्ने वडा अध्यक्ष मेम बहादुर बताउछन् । वडा र पालिकाले ठोङठोङमा गुम्बा लगायतमा समेत सहयोग गरेको उनले बताए ।
ठोङठोङमा कोही विरामी भए नेपाली कांग्रेसका नेता जीप छिरीङ लामाले वडाको मातहत रहने गरी उपलब्ध गराएको एम्बुलेन्सबाट स्वास्थ्य चौकीसम्म लगिदिने सुविधा दिईएको वडा अध्यक्ष मेम बहादुर तमाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्