बागमतीमुख्य समाचार

पहिरोले सडक अवरुद्ध भएपछि लप्ची वासीलाई समस्या

दोलखा/लामाबगर– लप्ची सडक खण्डको देउराली भन्ने ठाँउमा मंगलवार विहान सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि लप्चीका स्थानीयलाई आवत– जावतमा समस्या भएको छ । दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने देउराली सडक खण्ड लामाबगरबाट चार किलोमिटरको दूरीमा पर्दछ ।

विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने लप्ची चीनको तिब्बतसंग सिमाना जोडिएको गाँउ हो । यो गाँउमा ४६ घरधुरी रहेको भएपनि अहिले चौरी पालनमा संलग्न १२÷१३ घरधुरीका मानिसमात्र बसोबास गर्दै आएका छन् । सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि लप्चीका वासिन्दालाई चाँड– पर्वको समयमा आवत– जावत तथा आवश्यक सरजाम किनमेलको लागि लामाबगर बजार आउन समस्या भएको स्थानीय कर्मा शेर्पाले बताए ।

लामाबगर– लप्ची सडकको ११ सयम मीटर सुरुङ मार्गदेखी छाङछेमुसम्मको २२ किलोमीटर सडक नासा हाईड्रोपावरको लगानीमा निर्माण गरिएको हो । सडकमा सुख्खा पहिरो गएपछि हाईड्रोपावरहरुको काममा समेत समस्या भएको नासा हाईड्रो पावरका प्रशासकीय अधिकृत हेमराज तमाङले बताए ।

देउराली सडक खण्डमा सुख्खा पहिरोको जोखिम कायमै रहेकोले सडक मर्मत गर्न केही समयलाग्ने दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

झुलेमा ६ घर पहिरोको जोखिममा

दोलखाकै तामाकोशी गाँउपालिका वडा नम्बर– २ झुले पातले सिमबारीमा अविरल बर्षाको कारण जमिन भासिन थालेपछि ६ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।

जोखिममा परेका घर परिवारका व्यक्तिहरुलाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तामाकोशी गाउँपालिका वडा नम्वर–२ का वडा अध्यक्ष ईश्वरराज कार्कीले बताए ।

सम्बन्धित समाचार