दोलखा/दोलखाका मुख्य राजनीतिक दल, जिल्ला समन्वय समिति र नौ वटा पालिका तथा नेपाल वार एशोसियसन, पत्रकार महासंघ लगायत पापडमा संलग्न संघ– संस्थाहरुले शुक्रवार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जेन– जी आन्दोलन पछि उत्पन्न परिस्थितिको समाधान संवैधानिक व्यवस्था अनुसारनै खोज्नुपर्ने जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जिलला समन्वय समिति लगायत नौ वटा पालिका र पापडले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको शताब्दीऔं लामो संघर्ष पश्चात् संबिधान सभाबाट प्राप्त नेपालको संबिधान–२०७२ ले सुनिश्चित गरेका लोकतान्त्रिक गणतन्त्र, संघियता, समानुपातिक समाबेशिता, धर्म निरपेक्षता लगायतका अधिकारहरुका विरुद्धमा हुने कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जेन– जी पूस्ताले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता प्रति समर्थन रहेको उल्लेख गर्दै भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रिया मार्फत सजाय दिनुपर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुदाँ समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसेका हुन् ? यस सम्बन्धमा छानबीन सहित आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समिक्षा र पुनरावलोकन गरिनुपर्ने माग गरिएको छ ।
उनीहरुले विज्ञप्तिमा अहिले पनि जारी रहेको विध्वंसकारी गतिविधि प्रति सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण गराईएको उल्लेख गर्दै दोलखा जिल्लामा भएका छिटफुट घटना बाहेक हालसम्म शान्ति सुरक्षा कायम गराउन भूमिका खेल्नुहुने दोलखा स्थित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई धन्यबाद ब्यक्त गर्दै थप सजक र सर्तक रहन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्