शिक्षासमाचार

विद्यालय शिक्षा ऐन तर्जुमा गर्न माग

सुन्दर दहाल

दाेलखा / विद्यालय शिक्षा ऐन तुरुन्त तर्जुमा गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा हाल राजधानीमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महासंघले शिक्षा प्रणालीमा देखिएको अन्योलको समाधान तत्काल गर्न आह्वान गरेको हो।

महासंघले विद्यालय शिक्षा ऐनको अभावका कारण करिब २८ हजार सामुदायिक विद्यालयहरू प्रभावित भएको बताएको छ। विद्यार्थीहरूको परीक्षा स्थगन, नतिजा प्रकाशनमा ढिलाइ र कक्षा उन्नतिमा आएको अवरोधले बालबालिकाको शैक्षिक अधिकारमाथि प्रत्यक्ष असर परेको भन्दै महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षा ऐनको अभावले विद्यालय प्रशासन, शिक्षक र अभिभावकबीच अन्योलता बढाएको छ, जसको असर विद्यार्थीहरूको मनोविज्ञानमा समेत परेको छ।” महासंघका अध्यक्ष गुणराज माेक्तानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शिक्षा ऐन नआएसम्म शिक्षण प्रणालीमा स्थायित्व आउँदैन। सरकार संवादमा आएको भए पनि ठोस निर्णयमा नपुगेको देखिन्छ, जसले शिक्षकहरूको असन्तोष झनै चुलिएको छ।”

महासंघले शिक्षा ऐनमार्फत शिक्षकको सेवा सुरक्षादेखि विद्यालयको स्पष्ट व्यवस्थापन संरचना निर्माण हुने विश्वास व्यक्त गर्दै तत्काल नीति निर्माणको प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ। साथै, विद्यालय प्रमुख, शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिहरूलाई विद्यालय सञ्चालन, परीक्षा तथा नतिजा प्रकाशनजस्ता कार्यहरूमा आपसी समन्वय कायम गर्न पनि महासंघले अनुरोध गरेको छ। महासंघले जनताको साझा सरोकारको विषयमा सरकारको निष्क्रियता स्वीकार्य नहुने स्पष्ट गर्दै शिक्षा ऐन बिना शिक्षाको गुणस्तरमा सुधार सम्भव नरहेको पुनः दोहोर्याएको छ।

सम्बन्धित समाचार