खेलकुदबागमतीशिक्षासमाचार

जिल्ला स्तरीय छात्र फुटबलमा बैतेश्वर मावि विजयी

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ माटीले आयोजना गरेको जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगीताको उपाधि बैतेश्वर गाँउपालिकाको बैतेश्वर मावि नाम्दुले जितेको छ ।
मंगलवार बैतेश्वर मावि नाम्दु र द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोट बीच भएको खेलमा बैतेश्वर माविले द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोटलाई १–० गोलको अन्तरमा पराजित गरेको थियो ।
प्रतियोगीतामा विजेता बैतेश्वर मावि नाम्दुले नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोटले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रतियोगीतामा सेमिफाईनलमा पुगेका कालिञ्चोक स्कुल र अल्पाईन बोर्डिङ स्कुलले पनि नगद १०/१० हजार र ट्रफी तथा मेडल प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट किपरलाई समेत नगद २/२ हजार र ट्रफी प्रदान गरिएको आयोजक वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठले बताउनु भयो ।
वडा अध्यक्ष बासु श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेकपा एमालेका नेता तथा बागमति प्रदेशको पूर्व अर्थमन्त्री रचना खड्का, भीमेश्वर नगरपालिकाको नगरप्रमुख इश्वरनारायण मानन्धर र उपप्रमुख कमला वस्नेतले विजयी टिम तथा खेलाडिलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगीताको उद्घाटन गत पुष १४ गते बागमति प्रदेश सदस्य एवं भीमेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख भरत बहादुर केसीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार