मुख्य समाचारसमाचारसुचना

सामाजिक सञ्जाल दुरुपयोग नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

काठमाडौँ/प्रेस काउन्सिल नेपालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकका केही भागमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेको भन्दै चिन्ता प्रकट गरेको छ । यस्ता कार्यमा फेसबुक, ट्वीटर, युट्युव, टिकटक जस्ता सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको काउन्सिलको ठहर छ ।
सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा भ्रम समेत सिर्जना गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।
प्रवक्ता दीपक खनाल द्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम र सञ्चारकर्मीले प्रयोग गर्ने सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको स्मरण गरेको छ । परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरूपमा सामाजिक सञ्जालमा गलत र मिथ्या सूचना राख्नु, जातजाति, धर्म, सम्प्रदाय, सार्वजनिक शिष्टता र नैतिकताको प्रतिकूल सामग्री पोष्ट हुनु यसको दुरुपयोग भएको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले यस्ता आपत्तिजनक सामग्री पोष्ट नगर्न÷नगराउन सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गरेको छ ।
प्रेस काउन्सिल नेपालले यस्ता घटनाको बारेमा समाचार सम्प्रेषण गर्दा संयमता र सावधानी अपनाउन, तथ्य जाँच गर्न र पत्रकार आचारसंहिता पूर्णरूपमा पालना एवं कार्यान्वयन गर्न समस्त सञ्चार माध्यम र सञ्चारकर्मीलाई अपिल समेत गरेको छ ।

सम्बन्धित समाचार