दोलखा\जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशंकामा बुधवार राति पक्राउ गरेको तीन जनाको विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका शंकास्पद व्यक्तिहरुमा दोलखा विगु गाँउपालिका वडा नम्बर ३ का १८ बर्षको पेम्बा तमाङ, २८ बर्षको केशर तमाङ र २० बर्षको माधव मगर रहेका छन् । उनीहरुलाई विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको बिभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
सुन ल्याएको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाको कमाण्डमा खटिएका १० जनाको प्रहरी टोलीले खोजतलास गर्दा विगु गाँउपालिका वडा नम्बर ३ जामुनेको सिता तमाङको घरमा लुकाई राखेको ठाँउबाट बुधवार राति चार केजी सुन बरामद गरेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवारमात्र तिब्बतसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका रोङसिया र क्वादम खुला गरेको थियो ।
सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । सुन तस्करीमा थप मानिसको समेत संलग्नता रहेको हुनसक्ने भएकोले प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तिब्बतको फलाक नाकाबाट १२/१५ केजी सुन भित्रिएको आशंका गरिएको छ । सुन सहित अन्य केही व्यक्ति फरार रहेको आशंकामा प्रहरीले अनुसन्धान तथा खोजिकार्य जारी राखेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्