अर्थ र ब्यापारकृषि र सहकारीबागमतीमुख्य समाचार

कृषकको उत्पादनः सहकारीको बजार व्यवस्थापन

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ सुनखानीमा रहेको निलकमल सहकारी संस्थाले स्थानीय कृषकलाई व्यवसायीक खेतीमा प्रोत्साहित गर्न नकुहीने कृषि उत्पादनको बजार व्यवस्थापनमा सहयोग सुरु गरेको छ ।
२०७० सालमा स्थापना भएको सहकारीले गत बर्षबाट कृषकले उत्पादन गर्ने कफी, गुन्द्रुक, सिमी, भट्मास, बेसार, अदुवा, मास, मस्याङ जस्ता नकुहीने कृषि उत्पादन संकलन गरी काठमाडौँ लगायतका ठाँउमा बिक्रिको लागि व्यवस्थापन सुरु गरेको हो । सहकारीको अभियानमा वडाको समेत साथ र सहयोग रहने वडा अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
कृषकहरुले ल्याउने बिभिन्न प्रकारका नकुहीने कृषि उत्पादन सङ्कलनको लागि लुथरन वल्ड फेडेरेसनले मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखा मार्फत सङ्कलन केन्द्र निर्माण गर्न दुई लाख रुपैया सहयोग गरेको सहकारीका संस्थापक अध्यक्ष एवं व्यवस्थापक टहल आचार्यले बताउनु भयो ।
सहकारीले स्थानीय कृषकहरुले उत्पादन गरेका नकुहीने कृषि उत्पादन तोकीएको मूल्य तिरेर सङ्कलन गरी काठमाडौँ लगायतका बजारमा बिक्रि वितरण गर्दै आएको व्यवस्थापक आचार्यको भनाई छ । सहकारीले सुरु गरेको सङ्कलन केन्द्रमा सबैभन्दा बढी कफी आउने गरेको सहकारीको कर्मचारी लक्ष्मी भट्टले बताउनु भयो ।
२० जना जति स्थानीय कृषकले सहकारीको सङ्कलन केन्द्रमा कफी बिक्रिको लागि ल्याउने गरेको लक्ष्मीको भनाई छ । एकजना कृषकले सिजनमा पाँच केजी देखि डेढ दुई सय केजीसम्म कफी ल्याउने गरेको लक्ष्मीले बताउनु भयो । सहकारीले कृषकहरुसंग खरीद गरेको कृषि उत्पादनमा निश्चित प्रतिशत मुनाफा जोडेर काठमाडौँ लगायतका बजारमा बिक्रिको लागि लानेगरेको उहाँको भनाई छ ।
वडा नम्बर ८ सुनखानीका कृषक चित्रप्रसाद पाठक आफुले अहिले सहकारीको संकलन केन्द्रमा झण्डै तीन सय केजीसम्म कफी बिक्रिको लागि लाने गरेको बताउनु हुन्छ । विगत आठबर्षदेखि कफी खेती गर्दै आउनु भएका पाठक विगतमा आफैले काठमाडौँ लगेर कफी बिक्रि गर्दै आएकोमा अहिले घर छेउकै सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकको उत्पादन खरीद गरिदिने भएपछि सजिलो भएको बताउनु हुन्छ ।
सहकारीलेनै उत्पादीत कफी खरीद गर्ने भएपछि आफुले उत्पादन क्षेत्र विस्तार गरी झण्डै आठ रोपनी जमिनमा अरेविका जातको पाँच सय भन्दा बढी बोट कफी लगाएको पाठकले बताउनु भयो । आफुले उत्पादन गरेको कफी प्रतिकेजी पाँच सय देखि पाँच सय ५० रुपैयासम्म मा बिक्रि हुदै आएको उहाँको भनाई छ ।
सहकारीले द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग तथा द फ्रेसको हिमालय कम्पनिको सहकार्यमा ४० जना कृषकलाई कफी उत्पादन सम्बन्धि तालिम समेत दिएको छ । तालिम लिएका कृषकलाई द लेप्रोसी मिसन नेपाल र द फ्रेसको हिमालय कम्पनिले प्रति कृषक दुई सय बोटको दरले झण्डै आठ हजार कफीको विरुवा समेत सहयोग गर्न लागेको सहकारीका व्यवस्थापक टहल आचार्यले बताउनु भयो ।

सम्बन्धित समाचार