अर्थ र ब्यापारकृषि र सहकारीबागमतीमुख्य समाचारसमाचार

सडकले किसानलाई व्यवसायी बनायो

दोलखा/दोलखाको कालिञ्चोक र विगु गाँउपालिकाका दुर्गम वस्तिहरु अहिले फेरिदै गएका छन् । सडक, विजुली, टेलिफोन जस्ता सुविधा पुगेका ती वस्तिहरुमा अहिले तरकारी, फलफुल र पशुपालनको व्यवसायीक कारोवार सुरु हुन थालेका छन् ।
२०५५/०५६ सालमा तत्कालिन जिल्ला विकास समितिले सुनखानी– साङ्वा सडकको सुरुवात गरेपछि त्यस भेगका वासिन्दाले परम्परागत रुपमा गर्दै आएको कृषि तथा पशुपालन कर्मलाई व्यवसायीक रुपमा सुरु गर्न थालेका छन् ।
आफ्नै घर आँगनबाट सुनखानी– साङ्वा सडक अघि बढेपछि कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ गोदुङका स्थानीय अहिले तरकारी, कुखुरा पालन र पशुपालनको व्यवसायीक कारोवार गर्न कस्सीएका छन् । उनीहरुको रुचिमा वडा नम्बर ६ ले पनि सहयोग गर्ने विश्वास दिलाएको छ ।
आफ्नो घर आगनमा सडक जोडिएपछि अहिले आफुले साग, बन्दा, काउली, गोलभेडा जस्ता तरकारीको व्यवसायीक खेती सुरु गरेको स्थानीय दिपा थामीले बताउनु भयो । अहिले धेरै ठूलो लगानीमा तरकारी खेती सुरु गरेको छैन तर जति उत्पादन भएपनि घरबाटै बिक्रि हुने गरेको छ– दिपाले भन्नु भयो । सडककै कारण उत्पादीत तरकारी बिक्रि वितरणमा समस्या नभएको दिपाको भनाई छ ।
झण्डै २० घर रहेको गोदुङका स्थानीय अहिले आलु, बन्दा, काउली, खुर्सानी, साग जस्ता तरकारी खेती र कुखुरा तथा पुशपालनको व्यवसायीक कारोवारमा गरिरहेका छन् । केही बर्ष देखि कुखुरा फर्म सञ्चालन गर्दै आएका विशाल थामी सडककै कारण व्यवसायमा सहज भएको बताउनु हुन्छ ।
फर्ममा जतिसुकै वटा कुखुरा तथा अण्डा उत्पादन भएपनि सडकको सहज पहुँचका कारण घरबाटै बिक्रि वितरण गर्न सकिएको विशाल बताउछन् । आफुले बार्षिक ५/६ लाख रुपैयासम्मको कुखुरा तथा अण्डा बिक्रि गर्दै आएको उनको भनाई छ ।
गोदुङ्का स्थानीय पशुपालन तथा तरकारी र फलफुल उत्पादनमा व्यवसायीक बन्दै गएपछि वडाले पनि सहयोग सुरु गरेको वडा नम्बर ६ का वडा अध्यक्ष भरत पाण्डेले बताउनु भयो । वडाले सुन्तलाको पकेट क्षेत्र बनाउन पहल गरेको र गोलभेडा तथा तरकारी खेतीको लागि व्यक्त तथा समूहलाई उनीहरुको व्यवसाय हेरेर ७५ प्रतिशतसम्म अनुदान दिने नीति लिएको वडा अध्यक्ष पाण्डेले बताउनु भयो ।
दोलखाको कालिञ्चोक गाँउपालिकाको सुनखानीबाट लापिलाङ, लामिडाँडा, बाँबरे, कालिञ्चोक हुदै विगु गाँउपालिकाको खोपाचाँगु जोडिने झण्डै ४० किलोमिटर लामो यो सडकको १५ किलोमिटर प्रदेश सरकारको सहयोगमा अहिले धमाधम कालोपत्रे हुदै छ । सडकमा कालोपत्रे भएपछि पर्यटन प्रवद्धन र किसानहरुको व्यवसायीक खेतीलाई थप सहयोग पुग्ने वडा अध्यक्ष पाण्डे बताउनु हुन्छ ।

सम्बन्धित समाचार