दोलखा/आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ झ्याकु सर्सेपुका निर बहादुर खड्कालाई मंगलवार सशस्त्र प्रहरी बल नेपालले राहत सामग्री वितरण गरेको छ ।
गत साउन १६ गते विद्युत सर्ट भएर आगलागी हुदाँ खड्काको घर पूर्णरुपमा क्षति भएको थियो ।
पीडित खड्कालाई सशस्त्र प्रहरी बल नेपाल मनसुन प्रतिकार्य बेश सिंगटी दोलखा कार्यालयबाट तत्काल आवश्यक पर्ने स्टिलको प्लेट, कचौरा, गिलास, बोतल, मग, बेड, रुमाल, ब्ल्याङ्केट लगायतका सामग्री हस्तान्तरण गरेको थियो । सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले पीडितलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
जिल्ला सुरक्षा समिति दोलखाको निर्णय अनुसार पीडित परिवारलाई सशस्त्र प्रहरी बल नेपाल नं. १८ गुल्म हेडक्वाटर दोलाखमा रहेको डिजास्टर रिलिफ सिस्टम (डिआरसी) कन्टेनरमा रहेका उक्त सामग्रीहरु पीडितलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस्