दोलखा/दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय केन्द्र शैलुङ र कालिञ्चोकमा नयाँ बर्षको पहिलो दिन हजारौ पर्यटक पुगेका छन् । शैलुङमा नयाँ बर्षको पहिलो दिन (२०८३ बैशाख १ गते) झण्डै ५० हजार पर्यटक पुगेको स्थानीय होटल व्यवसायी सिद्धि श्रेष्ठले बताए ।
सयवटा थुम्का भएको ३१३७ मीटरको उचाँईमा अवस्थित शैलुङमा २०८२ सालको अन्तिम दिन चैत्र ३० गते र नयाँ बर्ष २०८३ को पहिलो बैशाख १ गते झण्डै ५० हजार पर्यटक पुगेको सथानीय होटल व्यवसायी श्रेष्ठको भनाई छ ।
शैलुङ क्षेत्र दोलखा र रामेछापको सिमाना तथा प्रमुख धार्मिक एवम् पर्यटकीय केन्द्र हो । शैलुङको कालापानी (दोलखा) र खोलाखर्क (रामेछाप) मा रहेको सबै होटलहरु पर्यटकले भरीभराउ रहेका थिए । शैलुङ पुगेका हजारौ पर्यटक रातभरी रमाईलो गर्दै जाग्राम नै बसेका थिए ।
शैलुङ पुगेका पर्यटकहरु आ– आफ्नो संस्कार– संस्कृति अनुसार नाँचगान सहित रमाएको स्थानीय होटल व्यवसायी सिद्धि श्रेष्ठले बताए । शैलुङ क्षेत्रमा सयवटा पहाडको थुम्का सहित महादेव थान, भीमसेनको तरवार, धर्मढोका, गोदावरी फुल्ने गुफा, पुथ्वीको नावी, मिनि ग्रेटवाल लगायतका धार्मिक एवम् पर्यटकीय स्थानहरु रहेका छन् । सत्य युगमा शैलुङका प्रत्येक थुम्कामा ऋषीहरुले तपस्या गरेको भनाई समेत प्रचलनमा रहेको छ ।

यो क्षेत्रको प्रचार– प्रसारका लागि समाजसेवी शोभित उप्रेतीको पहलमा भीमसेन तरवार लगायतका महत्वपूर्ण स्थानहरुको संरक्षण, कवि, साहित्यकार, देशी एवम् विदेशी पत्रकार, जेष्ठ नागरिक, उद्योगी– व्यवसायी, सन्त– महात्माहरुको भ्रमण तथा धार्मिक– सांस्कृतिक अभियान सञ्चालन हुदै आएका छन् ।
शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल, पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, शैलुङ गाउँपालिका तथा वडा नम्बर– ८ का अध्यक्ष धन बहादुर तमाङ, युवा समाजसेवी नवराज खड्का राजाभाइ लगायतले शैलुङको विकास र प्रर्वद्धनमा महत्वपूर्ण योगदान गर्दै आएको स्थानीय बताउछन् ।
नयाँ बर्षको पहिलो दिन मंगलवार काठमाडौँका बिभिन्न शक्ति पीठका पुजारीहरुले भीमसेन तरवारको पुजा– आरधना समेत गरेका थिए ।
काठमाडौँबाट पाँच घण्टाको बस यात्रामा सजिलै पुगिने र चैत्र– बैशाखमा समेत हिउँसंग रमाउदै मिनि ग्रेटवाल चढेर बिभिन्न हिमश्रृङ्खला हेर्न सकिने भएकोले पनि पछिल्लो समय दैनिक थुप्रै स्वदेशी तथा विदेशी पर्यटक शैलुङ क्षेत्रमा पुग्ने गरेका छन् ।
कालिञ्चोकमा पनि चहल– पहल

धार्मिक महत्वको प्रसिद्ध कालिञ्चोक मन्दिरमा पनि नयाँ बर्षको पहिलो दिन पाँचहजार बढी पर्यटक पुगेको स्थानीय होटल व्यवसायी विमल ओझाले बताए । चैत्र ३० कुरीमा रहेका सबै होटलहरु भरीएको होटल व्यवसायी ओझाको भनाई छ ।
चैत्र ३० गते र नयाँ बर्षको पहिलो दिन बैशाख १ गते कुरीबाट टाँपुमा पुग्ने केबुलकार झण्डै पाँच हजार पर्यटकले प्रयोग गरेको केबलकारका कर्मचारी सन्देश शिवाकोटीले बताए ।
३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोकको टाँपुमा रहेको कुण्डमा बर्षभरीनै पानी रहने गरेको छ । यो कालिञ्चोकको मुख्य विशेषता हो । महादेव– पार्वतीले तपस्या गरेको पवित्र भूमि मानीने कालिञ्चोक क्षेत्रमा चैत्र– बैशाखसम्मै हिमपात हुने गरेको छ । काठमाडौँबाट चार घण्टाको बस यात्रामा पुगिने कालिञ्चोकबाट गौरीशङ्कर लगायतका हिमश्रृङ्खलाहरु नियाल्न सकिने स्थानीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्