दोलखा/दशै लगतै दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने च्छो– रोल्पा हिमताल र दुधकुण्ड पुग्ने पर्यटकको संख्यामा बृद्धि भएपनि पैदलमार्गका तीनवटा पुल बगाएकाले यात्रामा जोखिम रहेको अन्तराष्ट्रिय हिमाल पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताए ।
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने च्छो– रोल्पा हिमताल र दुधकुण्ड पुग्न लामाबगरसंगको सिमाना छ्योत– छ्योत हुदै पैदलमार्गबाट मात्र जान सकिन्छ । गत बर्षको बाढीले रोल्वालिङ पदमार्गमा पर्ने ठिङलुङ खोलाका पुल बगाएपछि अस्थाई रुपमा तीन ठाँउमा काठका पुल राखिएकोमा त्यो पनि केही दिन अघिको बाढीले बगाएपछि यात्रामा जोखिम बढेको स्थानीयको भनाई छ ।
आफु केही दिन अघि आठ जना विदेशी सहित नौ जनाको टिम लिएर च्छो– रोल्पा हिमताल तथा दुधकुण्डा पुगेको तर फर्कदा डोङनाङ देखि ठाङदिङसम्म ठिङलुङ खोलाको तीन वटा अस्थाई पुल समेत बगाएपछि विद्युतको पोल राखेर डोरीको सहाराले खोला वारपार गर्नु परेको पथप्रदर्शक पासाङ किदर शेर्पाले बताए ।

मौसममा सुधार भएपछि दशै लगतै देखि दैनिक एकसय बढी स्वदेशी तथा विदेशी पर्यटक रोल्वालिङ पदमार्ग हुदै च्छो– रोल्पा हिमताल र दुधकुण्ड पुग्ने गरेका छन्, बेदिङका स्थानीय पासाङ किदारले भने– तर पदमार्ग जोखिम अवस्थामा रहेकोले नकारात्मक सन्देश जाने चिन्ता छ ।
रोल्वालिङ क्षेत्रमा पर्यटकको आकर्षण रहेको र यो पदयात्राको मौसम भएकोले तीनै तहको सरकारले जोखिम देखिएका रोल्वालिङ पदमार्ग मर्मतको लागि तत्काल काम थाल्नुपर्ने पासाङ किदरको भनाई छ ।

चार हजार पाँच सय ८० मीटरको उँचाईमा रहेको च्छो– रोल्पा हिमताल पुग्न स्वदेशी तथा विदेशी पर्यटकहरुले रोल्वालिङ पदमार्गमा पाँच देखी सात दिनसम्मको यात्रा गर्दै आएका छन् । यो क्षेत्र पुग्ने पर्यटकहहरु काठमाडौँ लगायतबाट चरिकोट हुदै छ्योत– छ्योतसम्म साना तथा ठुला सवारीका साधनमा आउने र त्यहाँबाट सिमिगाँउ, बेदीङ, ना हुदै च्छो– रोल्पा तथा दुधकुण्ड पुग्ने गर्छन ।
दशै लगतै च्छो– रोल्पा हिमताल पुग्न तीन सय बढी पर्यटक आएको बेदीङका होटल व्यवसायी छिरिङ शेर्पाले बताईन ।
विदेशी पदमार्गीहरु रोल्वालिङ पदमार्ग हुदै टाँसिलाप्चा पास भएर सोलुखुम्बुको पर्यटकीय गाँउ थामे निस्किएर सगरमाथा समेत जाने गरेको स्थानीयको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्