कला / साहित्यमनोरन्जनशिक्षा

दोलखामा ‘एक चिहान’ नाटक प्रदर्शनकाे तयारी

दोलखा / ओजस थिएटरले बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ मङ्गलबारदेखि दोलखामा प्रदर्शन गर्ने भएको छ ।
हृदयचन्द्रसिंह प्रधानको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई केन्द्रित गरी नाटक प्रदर्शन गर्न लागिएको ओजस थिएटर काठमाण्डौंका प्रबन्ध निर्देशक सागर कार्कीले चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नाटक पुस १६ गते मङ्गलबारदेखि २१ गतेसम्म प्रदर्शन हुनेछ । चरिकोट आसपासका लागि गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट, बैतेश्वर गाउँपालिका आसपासका लागि हनुमन्तेश्वर माध्यामिक विद्यालय मैनापोखरी र जिरी आसपासका लागि जिरी माध्यामिक विद्यालय जिरीमा नाटक प्रदर्शन हुने भएको छ ।
विद्यार्थीहरुलाई अभिनयमार्फत नाटक र नाट्यशालाको बारेमा जानकारी दिनुका साथै वर्तमान समाजको चित्रण गरेर देखाउने उद्धेश्यले नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । एचवि मगरले परिकल्पना गर्नुभएको नाटकलाई रविन दोङले निर्देशन गर्नुभएको छ ।
रोल्वालिङ मिडिया चरिकोटसँगको सहकार्यमा दोलखाका विभिन्न ठाउँमा प्रदर्शन हुन लागेको नाटक विद्यार्थीसहित करिब २ हजार दर्शकले हेर्ने आयोजकको अनुमान रहेको छ । प्रत्यक्ष अभिनयसहित मिनी नाट्यशालाको झल्को दिनेगरी प्रदर्शन हुने नाटक दोलखाली विद्यार्थी र दर्शकहरुका लागि नयाँ स्वाद हुने स्थानीय सहआयोजक रोल्वालिङ मिडिया प्रालिका अध्यक्ष तारा बहादुर महतले बताउनुभयो ।
बहुचर्चित उपन्यास ‘एक चिहान’ कक्षा १२ को अनिवार्य नेपाली विषयमा पठनपाठन हुँदै आएको छ । नाटक विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको भएपनि पुस २० गते शनिबार बाहिरी दर्शकहरुका लागि विशेष शो हुने भएको छ । नाटक हेर्न विद्यार्थीका लागि ३ सय रुपैयाँ र अन्य दर्शकका लागि ४ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

सम्बन्धित समाचार