मुख्य समाचारसमाचारस्वास्थ्य

आँखाको ज्योती फर्किएको खुशी

दोलखा/दोलखाको मेलुङ गाँउपालिकाको विशेष पहलमा आयोजना भएको मोतियाविन्दुको शल्यक्रिया कार्यक्रम पछि ५० जना जेष्ठ नागरिकले आँखाको ज्योती फर्किएको खुशी साटेका छन् ।
मोतियाविन्दुको कारण झण्डै चार बर्षदेखी हरेक समय अन्धकारमा विताउनु भएको मेलुङ गाँउपालिका वडा नम्बर– ३ घ्याङको ८९ बर्षिय दिलकुमारी कार्कीले आफु खेलेको, कुदेको बनपाखा र आफ्ना आफन्त परिवारलाई देख्नपाउदा असाध्य धेर खुशी लागेको बताउनु भयो ।
अब मलाई चुला– चौका र यताउता गर्न सहारा नचाहिने भयो दिलकुमारीले भन्नु भयो– यो खुशीको लागि गाँउपालिका र डाक्टरहरुलाई धन्यवाद छ ।


मेलुङ गाँउपालिका वडा नम्बर– ४ भेड्पुको कमला विकको खुशी पनि दिलकुमारीको भन्दा कम छैन । मोतियाविन्दुको कारण आँखाको ज्योती गुमेपछि आफुले हरेक दिन घाँस दाउरा गरेको बन पाखा पनि विरानो भएको थियो कमलाले भन्नु भयो– शल्यक्रिया पछि आँखाको ज्योती फर्किएर त्यहि वनपाखाका हरियाली देख्न पाउदा मन साह्रै आनन्दित भएको छ ।
तिलगंगा नेत्र विज्ञान संस्थान काठमाडौँ, मेलुङ गाँउपालिका, लायन्स क्लब अफ दोलखा र दोलखा लायन्स सर्जिकल आँखा सेन्टरको आयोजना तथा हिमालयन मोतियाविन्दु परियोजनाको सहयोगमा सोमवारबाट तीन दिनसम्म भएको शल्यक्रियामा मेलुङ गाँउपालिकाको बिभिन्न वडाबाट आएका ५० जना विरामी मध्य ४७ जनाको मोतियाविन्दुको शल्यक्रिया र तीन जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको तिलगंगा नेत्र विज्ञान संस्थानको डाक्टर लिना बज्राचार्यले बताउनु भयो ।
त्यसरी शल्यक्रिया गरिएको मोतियाविन्दुको विरामीहरुमा २४ जना पुरुष र २६ जना महिला रहेको र त्यसमध्य सात जना पुरुष र चार जना महिला गरी ११ जना ८५ बर्ष भन्दा माथिका रहेको बरिष्ठ नेत्र सहायक विप्लव खड्काले बताउनु भयो ।
मोतियाविन्दुको शल्यक्रिया अघि गाँउपालिकाले सबै वडाहरुमा आँखा शिविर आयोजना गरेको र उक्त शिविरमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरु छनौट गरी सोमवारबाट तीनदिनसम्म मेलुङको त्रिभुवन माविमा शल्यक्रिया गरिएको मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार तमाङ (थोकर) ले बताउनु भयो ।


मोतियाविन्दुको शल्यक्रिया सामान्य कुरा हो, तर गाँउघरमा चेतनाको अभाव, शल्यक्रियावारे जानकारी नभएको र अस्पतालसम्म लगिदिने सहयोगीको अभावमा धेरै जेष्ठ नागरिकहरु अन्धकारमा बस्नुपर्ने अवस्था देखेर गाँउपालिकाको विशेष पहिलमा आँखा शिविर सहित मोतियाविन्दुको शल्यक्रिया गरिएको पालिका प्रमुख तमाङको भनाई छ ।
गाँउघरमा मोतियाविन्दुको समस्या जस्तै महिलाहरुमा पाठेघरको समस्यापनि जटिल रहेको पाईएकोले गाँउपालिकाले पाठेघर सम्बन्धि शिविर र आवश्यकता अनुसार पाठेघरको शल्यक्रिया गर्ने योजना समेत बनाएको पालिका प्रमुख तमाङले बताउनु भयो । शल्यक्रिया शिविर समापन कार्यक्रममा गाँउपालिकाको उपप्रमुख गायत्री आचार्य, त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, तिलगंगा नेत्र विज्ञान संस्थानको नेत्र अधिकृत मनिषा थापा, मेलुङ गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख हरेराम चाँपागाई, नेत्र सहायक योगीना विक, अहेव कुमार राई, आँखा स्वास्थ्य कार्यकर्ता सावित्रा ओली, आाखा कार्यकर्ता काजी बहादुर दर्जी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार