दोलखा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा आम नागरिकको चासो, साथ र सर्मथन देखिएको बताउनु भएको छ ।
गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको लागि सुरु भएको सङ्कल्प यात्राको १२ औ दिन सोमवार दोलखा सदरमुकाम चरिकोटमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुदै एमाले अध्यक्ष ओलीले पहिचानवादीको नाममा कोशी अञ्चलमा एमालेलाई निषेध गर्ने भन्ने कुरा निन्दनीय रहेको बताउनु भयो ।
नेकपा एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो, यो पार्टी कसैले यो गर, त्यो नगर भन्दा मान्ने वा कसैले प्रवेश निषेध भन्दा डराउने पार्टी हैन अध्यक्ष ओलीले भन्नु भयो– एमालेले निषेधको राजनीति सहदैन । अध्यक्ष ओलीले राजनीति भनेको संवाद समेत भएकोले पहिचानवादीहरुको केही माग भए नेकपा एमाले छलफल गर्न, संवाद गर्न तयार रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले एमालेले निर्वाचन जितेर सरकार बनाएको उल्लेख गर्नुहुदै आफ्नो नेतृत्वको सरकारलाई राम्रो काम ग¥यो भनेर विपक्षीलेमात्र हैन आफ्नै पार्टी भित्रकाले समेत अदालतमा निवेदन हालेर हटाएको आरोप लगाउनु भयो ।
एमाले नेतृत्वको सरकारले काम गर्न नसकेर हैन, दमदार ढङ्गले सबै जातजाति, भाषा, धर्म, सम्पदाय, किसान, मजदुर, व्यवसायी, युवा, महिला, जेष्ठ नागरिकको पक्षमा राम्रो काम ग¥यो भनेर आफ्नै पार्टीका नेताहरु समेत लागेर हटाए– अध्यक्ष ओलीले भन्नु भयो ।
कम्युनिष्ट, बामपन्थि जे भनेपनि नेकपा एमालेनै हो अध्यक्ष ओलीले भन्नु भयो– झिगाको पछि लागियो भने पुग्ने फोहरमा मात्र हो त्यसैले सबै कम्युनिष्टहरु नेकपा एमालेमा आउनुहोस्, आफ्नै पार्टीमा फर्कनुहोस् ।
समृद्धि यात्रको क्रममा सोमवार काभ्रेपलाञ्चोकको धुलिखेलबाट आएको अध्यक्ष ओली नेतृत्वको टोली दिउँसो करिब २ बजे दोलखाको खरीढुङ्गा प्रवेश गरेको थियो । खरीढुङ्गामा भीमेश्वर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हिमाल श्रेष्ठले खरीढुङ्गा म्याग्नेसाईट सञ्चालन लगायतका मागसहितको स्मरणपत्र बुझाएको थियो । खरीढुङ्गामै विहानको खाना पछि अध्यक्ष ओली नेतृत्वको टोली बिभिन्न समुदायको झाँकीहरुको अवलोकन तथा स्थानीयसंग भेटघाट गर्दै झण्डै साँझ ६ बजे सदरमुकाम चरिकोटको जनसभा स्थलमा आईपुगेको थियो ।
नेकपा एमाले दोलाखको १० औ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा सहसंयोजक राजेन्द्र मानन्धरले मन्तवय व्यक्त गर्नु भएको थियो भने नेकपा एमालेका नेता एवं दोलखा प्रदेश २ का सांसद भरतबहादुर केसीले बिभिन्न स्थानीय माग सहितको स्मरणपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्