मुख्य समाचारयो पनिसमाचार

११ केजी सुन तस्करीः नौ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

दोलखा/चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक–रोङ्जिया नाकाहुदै भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलाशले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
तस्करी आरोपमा पक्राउ परेको १५ जना (एक बालक सहित) मध्य नौ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने, तीन जनालाई धरौटीमा रिहा गर्ने र तीन जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश जिल्ला न्यायधिश श्रेष्ठको इजलाशले गरेको हो ।
शुक्रवार दिईएको आदेश अनुसार ११ केजी सुन तस्करीका मुख्य नाईके चिनिया नागरिक आकर लामा र ग्याङ रु, नुर्बु छिरीङ शेर्पा (काठमाडौँ), पेम्बा तमाङ (दोलखा), चसमान तमाङ (दोलखा), केशर तमाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी) तथा लालबहादुर तमाङ (सिन्धुपाल्चोक) लाई पुर्पक्षको लागि थुनामा राख्न भनिएको छ ।
अदालतको आदेश अनुसार महिमा माझी (रामेछाप) लाई एक करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्य (ललितपुर) लाई ९६ लाख ५० हजार र तिलक बिक (बाग्लुङ) लाई ८८ लाख धरौटीमा छोड्न भनिएको छ । नाबालक (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), र सुनमाला तमाङ (दोलखा) लाई भने साधारण तारेखमा छोड्न आदेश दिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अञ्चन भट्टराईले बताउनु भयो ।


यस अघि जिलला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काठमाडौँले संयुक्त रुपमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाईल बुझाएको थियो । प्रहरीको अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको जनाईएको थियो ।
पक्राउ परेकाहरु बाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैया बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैया समेत बरामद भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भएको थियो ।
उनीहरुले २०७९ साल मंसिर देखी २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैया १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको थियो ।
गत असोज १० गते समेत बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरुबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।

सम्बन्धित समाचार