अर्थ र ब्यापारकला / साहित्यधर्म/संस्कृतिबागमतीमनोरन्जनमुख्य समाचारसमाचार

स्पार्क एड्भेन्चर’का लागि दुई सय बढी सहभागी शैलुङमा

दाेलखा/ स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ  । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर २०२३’ आयोजना गरेको हो ।

बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एडभेञ्चरको  उद्घाटन गरिएको छ। उद्घाटनपश्चात २०० जनाभन्दा बढीको टोलीले सैलुङको यात्रा सुरू गरेको हो ।

सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो । यस्तै  यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो  । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

‘यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौँ, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौँ,’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने ।

प्रचुर पर्यटकीय संभावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्धप्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गर्ने र त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने आयोजकको भनाइ छ ।

शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । टोली आज साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ ।

चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको छ ।

कार्यक्रममा क्याप्टेन बिजय लामा,  निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायतका कलाकार सहभागी छन् ।

कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने ३ दिने कार्यक्रममा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।

कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कुटनैतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागीता रहेको छ ।

यस किसिमको सहभागीता मुलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दावी बताएको छ  ।

कार्य ब्यस्तताले लोक गायक प्रेमराजा महत तथा मोडल रीना थापा मगर भने दोश्रो दिन मात्रै कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।

शैलुङतर्फको यात्रा तय गर्दै गर्दा सहभागीहरू निकै उत्साहित छन् ।

‘साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष रूपमा स्थलगत जानका लागि एकदम एक्साइटड छु,’ क्याप्टेन लामाले भने ।

अध्यात्म र प्रकृतिसँग रमाउने एक्सन स्टार निखिल उप्रेतीले आफू भगवान बुद्धले टेकेको भूमिमा जान निकै नै उत्साहित भएको बताए  ।

असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरू गरेको  यश समूहले असोज १२ गते चौँरी गोठ र शैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ ।  

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।

सम्बन्धित समाचार