बागमतीमुख्य समाचारसमाचार

चितुवा आतङ्कले उत्तरका स्थानीय त्रसित

दोलखा/दोलखाको उत्तरी क्षेत्र विगु गाँउपालिकामा अहिले चितुवा आतङ्कले स्थानीय त्रसित बनेका छन् । केही दिनको अन्तरालमा विगु गाँउपालिकाको वडा नम्बर ६ र ७ मा चितुवाले १० वटा बाख्रा मारीसकेको वडा नम्बर ७ का वडा अध्यक्ष दलबहादुर श्रेष्ठले बताउनु भयो ।
आईतवार राति वडा नम्बर ७ मानेडाँडाका स्थानीय अनिल दुलालको गोठमा पसेको चितुवाले पाँचवटा बाख्रा मारेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । चितुवाले पाँच वटा बाख्रा मारेर ५० हजार भन्दा बढी नोक्सानी भएको पीडित अनिल दुलाले बताउनु भयो ।
अहिले त बाख्रामात्र मारेको छ, तर चितुवाको यो आतङ्कले हामीलाई आफ्नो ज्यान जोगाउन समेत मुश्किल हुन थालिसक्यो– स्थानीय पीडित अनिलले भन्नु भयो ।
केही दिन अघि विगु गाँउपालिका वडा नम्बर ६ आलम्पुको स्थानीय चिनिमाया विश्वकर्माको चार वटा र इसी शेर्पाको एक वटा गरी पाँच वटा बाख्रा मारेको स्थानीयले बताएका छन् । राति– राति चितुवा गोठमा पसेर बाख्रा मार्न थालेको छ पीडित चिनिमायाले भन्नु भयो– अब त राति सौचको लागि निस्कन समेत मुश्किल भयो, कतै चितुवाले मानिसलाईनै आक्रमण गर्छकी भन्ने त्रासले ।
केही समय अघि वडा नम्बर ६ वासाका स्थानीय तारा थामी र रङ्गबहादुर थामी तथा क्यार्थलका मान बहादुर थामीको घरमा पनि चितुवा पसेर आतङ्क मच्चाएको स्थानीयले बताए ।
उत्तरी गाँउमा चितुवा लगायतका बन्यजन्तुले आतङ्कीत पार्न लागेपछि गौरीशङ्कर संरक्षण क्षेत्र र सम्बन्धित वडा तथा पालिकामा जानकारी गराएको भएपनि सुरक्षा र क्षतिपूर्तिको विषयमा खासै कुनै पहल नभएको स्थानीय पीडितहरुले गुनासो गरेका छन् ।
गौरीशङ्कर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी प्रसाद दहालले भने स्थानीय किसानको पशुलाई बन्यजन्तुले आक्रमण गरेर मारेको बारेमा जानकारी आएको र त्यसको उचित क्षेतिपूर्ती दिईने बताउनु हुन्छ । बन्यजन्तुबाट आफ्नो पशुको सुरक्षाको लागि स्थानीयले गाई, बाख्रा बाध्ने गोठ बलियो बनाउनु पर्ने सूचना अधिकारी दहालको भनाई छ । पछिल्लो समय मृग, घोरल लगायतका जङ्गली जनावर घट्दै गएपछि चितुवा मानिसको घर, गोठमा पस्न लागेकोले सचेत बन्नु पर्ने दहाल बताउनु हुन्छ ।
गत आर्थिक बर्ष गौरीशङ्कर संरक्षण क्षेत्र भित्र पर्ने दुई सय २१ घर धुरीको दुई सय २८ वटा खसी बाख्रा सहित तीन सय २६ वटा घर पालुवा जनावर चितुवाले मारेको र त्यस वापत संरक्षण क्षेत्रले पीडित स्थानीयलाई छब्बीस लाख ५१ हजार नौ सय क्षेतिपूर्ती बापतको रकम उपलब्ध गराएको सूचना अधिकारी दहालले बताउनु भयो ।

सम्बन्धित समाचार