दोलखा/दोलखाको मेलुङ गाँउपालिकामा एक महिलाको हत्या भएको छ । मेलुङको वडा नम्बर– १ पवटी पिपलबोटकी ३२ बर्षिय कल्पना भुजेललाई उनको भाइ रामभरत भुजेलले दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ कल्पनाको हत्या भएको र सो बारे प्रहरीले शनिवारमात्र जानकारी पाएको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनु भयो । बोली नआउने र कान समेत नसुन्ने रामभरतले दिदीको हत्या गर्नुको कारण नखुलेको प्रहरी निरीक्षक सिग्देलले बताउनु भयो । हत्या आरोपी रामभरतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसनधान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दोलखाको विगु गाँउपालिकामा एक जेष्ठ नागरिकको विषादी फल खादा मृत्यु भएको प्रहरीले जनाएको छ । विगु– ६ आलम्पुका ७३ बर्षिय नरबहादुर थामीको बनतरुल जस्तो देखिने फल खादा मृत्यु भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिनु भयो ।
शुक्रवार दिउँसो बनतरुल जस्तो देखिने विषादी फल खाएपछि नरबहादुरले वान्ता गर्न थालेका थिए । श्रीमतीले उपचारको लागि दोलखाको धुलिखेल अस्पतालमा ल्याउने क्रममा बाटोमै थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्