शरद सापकाेटा
भीमेश्वर नगरपालिकामा मेयरको उम्मेदवारी दिएका हरिवंश चौलागाईले भीमेश्वरलाई समृद्द बनाएरै छाड्ने उद्घोष गरेका छन्
।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चौलागाईले अघिल्लो कार्यकालमा आफ्नो पार्टीले कोरेको विकासको खाका बाट नगरको विकास नयाँ ढंगले गर्ने बताएका छन्।
कलिलो उमेरदेखि पूर्णकालीन राजनीतिमा समर्पित भएका उनी इमानदार, समन्वयकारी र असल राजनीतिज्ञ मानिन्छन्।
आजभोलि आजीवन सामाजिक सेवा र राजनीतिमा जीवन समर्पण गर्ने मानिसहरु कमै भेटिन्छन्। तीनै मानिसहरुमध्ये एक हुन् चौलागाई।
पर्टीभित्र कुशल संगठक, प्रतिवद्ध र इमान्दार नेताको छवि बनाएका र अघिल्लो कार्यकालमा वडा ४ मा वडाध्यक्ष हुँदा समग्र विकास अगाडि बढाएका कारण मेयरको चर्चामै थिए।
स्थानीय सरकार नहुँदा सर्वदलीय संयन्त्रमा भीमेश्वर नगरबाट एमालेको प्रतिनिधि भएर पूरै नगरमा विकासको काम अघि बढाएको अनुभव उनीसँग छ।
निम्न वर्गीय किसान परिवारमा अभावै अभावका बीचमा जन्मेर कठिन जीवन निर्वाह गर्दै संघर्ष गरेका चौलागाई संघर्षकै पर्यायवाची नाम हुन्।
राजनीतिलाई नै सबथोक सम्झने हरिवंश चौलागाई आज दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्।
उनी आफूलाई निम्न वर्ग, कृषक र मजदूरको प्रतिनिधिको उम्मेदवार भनेर चिनाउन चाहन्छन्।
भीमेश्वरका आम नागरिकको भावना बुझेर विकासका काम अघि बढाउने अठोट उनको छ।
राजनीति र विकासका क्षेत्रमा आफ्नो लामो अनुभव भएको र यो नै नगर विकास गराउने महत्वपूर्ण कडी भएको उनको दावी छ।
भीमेश्वरमा नेकपा एमालेको मजबुत संगठन छ र त्यो संगठन निर्माण गर्नपनि उनको ठूलो योगदान छ। उनी कुशल संगठक हुन्।
को हुन त हरिवंश चौलागाई उनको राजनीतिक जीवन यात्रा कस्तो छ ?
स्व.पिता कृष्ण प्रसाद र माता नन्दमाया चौलागाईका सुपुत्रका रूपमा दोलखाको भीमेश्वर नगरपालिका वडा नं ४ जिलु फसिभैँमा वि.सं २०३४ सालमा हरिवंश चौलागाईँको जन्म भएको हो।
सामान्य किसान परिवारमा जन्मेका चौलागाईले १० वर्षको सानो उमेरमा पिता गुमाउनु परेको थियो।
पिताको संरक्षण नपाएका चौलागाईंलाई आमाले रुखो, पिठो खुवाएर हुर्काएकी हुन्।
अभावै अभावका बीचमा प्राथमिक शिक्षाको शुरुवात गाउँकै सामान्य विद्यालयबाट गरेका चौलागाईले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटबाट माध्यमिक शिक्षा पूरा गरे। उनले राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन पूरा गरेका छन्।
उनको १४ वर्षको कलिलो उमेरमा वि.सं. २०४८ सालमा अनेरास्ववियू प्रारम्भिक कमिटी कालिञ्चोक माध्यमिक विद्यालयमा अध्यक्षको जिम्मेवारीबाट राजनीतिक यात्रा प्रारम्भ भयो।
निडर, प्रष्टवक्ता, हँसिलो चेहरा र हक्की स्वभावका चौलागाईको अनेरास्ववियूमा सक्रियता र जिम्मेवारी बोधको विशेषताले उनलाई वि.सं.२०५१ सालमा नेकपा एमाले तत्कालीन चरिकोट गाउँ कमिटिको उपसचिवको जिम्मेवारी दिइयो ।
त्यो समयमा नेकपा एमालेको संगठन विस्तारमा उनको भूमिका महत्वपूर्ण रह्यो।
हालको नेकपा एमालेको सुदृढ संगठन तत्कालीन समयको संगठन विस्तारलाई लिन सकिन्छ।
काममा प्रतिवद्ध र संगठन प्रतिको लगावका कारण चौलागाई वि.स. २०५२ सालमा अनेरास्ववियू जिल्ला कमिटि अध्यक्ष र सोही समयमा राष्ट्रिय परिषद सदस्य समेत बने।
जिल्लामा रहेका विद्यायमा प्रारम्भिक कमिटि गठन र शैक्षिक आन्दोलनमा अग्रणी र सशक्त भूमिका निर्वाह गरे।
तत्कालीन समयमा अनेरास्ववियूले २१ सूत्रीय शैक्षिक माग राखेर आन्दोलन गरेको थियो । त्यसबेला जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएको भन्दै उनलाई ४ दिनको हिरासत समेत राखिएको थियो।
आजीवन व्यक्तिगत स्वार्थ भन्दा पनि सिंङ्गो उर्जाशील समय पार्टी संगठनका लागि खर्चिएका चौलागाईले वि.सं.२०५३ सालमा भीमेश्वर नगर कमिटिको संस्थापक सदस्यको रुपमा काम गरे।
वि.सं. २०६१ सालदेखि वि.स.२०७० सालसम्म (पार्टी सचिव सहित) ३ कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर नगरको संगठन बलियो बनाउन उनको भूमिका उल्लेखनीय छ।
वि.सं. २०६२ सालदेखि एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी र निरन्तर नगर इन्चार्जको भूमिकामा पार्टी र संगठनका लागि काम गर्दै आएका छन्।
उनी हाल मदन भण्डारी फाउण्डेशनको अध्यक्षको भूमिकामा रहेका छन् ।
संघीय शासन व्यवस्था पछिको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा भीमेश्वर नगरपालिका वडा नं ४ को वडाध्यक्षको जिम्मेवारी पूरा गरी कुशलतापूर्वक कार्यसम्पादन गरेका छन्।
उनी पार्टीको जिल्ला प्रदेश र केन्द्रसम्म राम्रो पहुँच राख्दछन्।
आफ्नो कार्यकालमा उनले जिलूमा गरेका नमुना कामहरु निम्न छन् :
१ जिलू चक्रपथ सडक पक्की बनाउने कामको सुुरुवात
२ वडाको प्रशासनिक भवन निर्माण
३ जिलुको एकीकृत वस्ती निर्माण
४ जलेश्वर मन्दिर नव निर्माण
५ पाण्डव पार्क निर्माणको शुरुवात २९ करोडको डिपिआर तयार
६ वृन्दावन पार्क निर्माणका लागि ८ करोडको डिपिआर तयार
७ सबै टोल बस्तीमा सडकको पहुँच
८ कृषिमा आधुनिकीकरणको लागि प्रोत्साहन
९ सर्व माध्यमिक विद्यालयलाई चाइनिज सरकारको सहयोगमा सुविधा सम्पन्न भवन निर्माणको थालनी
१० सर्व माध्यमिक विद्यालयलाई कृषि क्याम्पसको रुपमा स्थापित गर्न पहल
११ आधारभूत स्वास्थ्य सेवाको लागि स्वास्थ्य संस्थाको निर्माण
१२ विषादीमुक्त खेतीको लागि पहल
१३ विभिन्न सामुदायिक भवनहरुको निर्माण
प्रतिक्रिया दिनुहोस्