दोलखा/दोलखाको भीमेश्वर नगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ । नागरिक–नागरिक बीचको सम्बन्ध तथा सहकार्य र सांस्कृति सहकार्यको लागि भगिनी सम्बन्ध कायम गरिएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादु केसीले बताउनु भयो ।
शनिवार भीमेश्वर नगरपालिकाको कार्यालयमा भएको विशेष कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादु केसीले समझदारी पत्र आदान प्रदान गर्नु भएको थियो । उक्त समझदारी पत्रमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय र भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काको रोहवरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादु केसीले हस्ताक्षर गर्नु भएको छ ।
भीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानरपालिका बीच भएको भगिनी सम्बन्धले नेपालको बहुसांस्कृतिक, बहुभाषिक तथा भौगोलीक बिबिधताको राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने, दोलखा– जनकपुरमा सांस्कृतिक करिडोरको विकास गरी आर्थिक समृद्धिको साझा अवसरहरु विस्तार हुने, दोलखा– जनकपुरधाम हुदै चिन र भारतसंग जोड्ने छोटो दूरीको त्रिदेशीय करिडोर मार्फत बृहत सांस्कृतिक, आर्थिक एकिकरणबाट हुने समृद्धिको सम्भावनालाई साकार पार्न प्रयत्न गर्ने, दुई नगर बीचको बहुसांस्कृतिक एकता, हिमाल तराई मित्रताको रुपमा विकास गर्ने लगायतका कुरामा सहयोग पुग्ने अपेक्षा लिईएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनु भयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीको सभापतित्वमा सम्पन्न समझदारी पत्र आदान प्रदान कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, बिबिसीका पत्रकार बृज कुमार यादव, भीमेश्वर संस्कृति प्रतिष्ठान, भानु विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठ, सल्लाहकार बृर्ख क्षेत्री, शान्तकृष्ण श्रेष्ठ र सचिव शुन्दर खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्