दोलखा/तिब्बतसंग सिमाना जोडिएको दोलखाको दुर्गम लप्ची गाँउका बालबालिकाहरु विद्यालयको अभावमा पढाईको लागि काठमाडौँ जान बाध्य छन् । पढाईको लागि दुईदिन हिडेर लामाबगर आउनु पर्ने भएपछि लप्ची गुम्बा व्यवस्थापन समितिले उनीहरुलाई काठमाडौँमा स्कूल भर्ना गरिदिएको छ ।
दोलखाको विगु गाँउपालिका वडा नम्बर १ मा पर्ने लप्चीमा ४६ घर धुरी रहेको छ । त्यसमध्य १३ घर धुरीका मानिस चौरी पालन व्यवसाय गरेर लप्चीमै बसोबास गर्दै आएका छन् । १३ घर धुरीका १५ बालिका र दुई बालक गरी १७ बालबालिकालाई लप्ची गुम्बा व्यवस्थापन समितिको सक्रियतामा काठमाडौ बौद्ध स्थित सङतेन विलिबुटी माविमा पढाईको लागि भर्ना गरिएको समितिका अध्यक्ष कर्मा शेर्पाले बताए ।
लप्चीमै चौरीपालन गरेर बस्ने स्थानियको बालबालिबालाई स्वदेशी तथा विदेशी आफन्त, पर्यटक र गुरुहरुको सहयोगमा लप्ची गुम्बा व्यवस्थापन समितिले पढाईको व्यवस्था गरेको अध्यक्ष कर्माको भनाई छ । उनीहरुलाई काठमाडौँमा बस्नको लागि समितिको काठमाडौँमा रहेको कार्यालयमा व्यवस्था गरिएको उनले बताए ।
लप्चीका बासिन्दा पुष देखि चैत्रसम्म लुम्नाङमा बस्ने गर्छन । बैशाख देखि मंसिरसम्म भने लप्चीमै बस्ने समितिका अध्यक्ष कर्मा शेर्पाले बताए । २०७२ सालको भुकम्प अघि लुम्नाङमा प्राथामिक विद्यालय भएकोले चार महिना लुम्नाङ झरेको बेला बालबालिकाहरुले उक्त विद्यालयमा पढ्ने गरेका थिए । लप्ची गएपछि भने शिक्षकहरु जान नसक्ने भएकोले पढाई बन्द गर्ने गरेका थिए । २०७२ सालको भुकम्पले विद्यालय भवन भत्कीएपछि भने पढाई हुन छोडेकोले समितिले सन् २०१५ बाट काठमाडौँमा लगेर पढाउन थालेको अध्यक्ष कर्माले बताए ।
लप्चीमा बसेर मेहेनत साथ चौरी पालन व्यवसाय गर्ने स्थानियको बालबालिकाले पढ्न नसक्ने र पढाईको अभावमा लप्ची गुम्वामा स्थानियको सहभागिता नदेखिने भएकाले पनि मितिले काठमाडौँमा लगेर पढाउन थालेको अध्यक्ष कर्माको भनाई छ । विगु गाँउपालिका तथा सरकारले लप्चीमै विद्यालयको व्यवस्था गरेर स्थानियको बालबालिकालाई गाँउमै पढ्ने व्यवस्था गरिदिनु पर्ने अध्यक्ष शेर्पा बताउछन् ।
प्रतिक्रिया दिनुहोस्