९ मंसिर चरिकोट
भीमेश्वर नगरपालिका वडा नं २ बस्ने गर्भवती आमाहरुको सम्मेलन सम्पन्न भएको छ । ३९ जना गर्भवतीहरु भेला भएर गरिएको सम्मेलनमा मातृशिशु स्वाथ्यको बिषयमा गहिरो चर्चा गरिएको छ । जन्मको बेला आमा र बच्चा दुवैमा हुनसक्ने खतरा र बच्ने उपायका बारेमा सचेत गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य चौकी इन्चार्ज रामकृष्ण मास्केले जानकारी दिनुभयो ।
भीनपाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बस्नेतले यस्ता कार्यक्रहरु सबै वडामा सञ्चालन गर्नुपर्ने र महिला तथा बालबालिकालाई अकाल मृत्युबाट बचाउनु पर्ने कुरामा जोड दिनुभयो । दोलखा अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा आकाश आचार्यले गर्भअवस्थाका जटिलता र अपनाउनु पर्ने सावधानीका बारेमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी आमा सरिता श्रेष्ठ भन्नुहुन्छ “हरियो सागपात खाँदा चिसो लाग्छ, आइरन चक्कीले पेट खराब भएर कालो दिसा आउँछ भन्ने कुरा गलत रहेछन र स्वास्थ्य संस्थामै गएर स्वास्थ्य जाँच गराउनु पर्ने रहेछ भन्ने कुरा बुझियो, कार्यक्रममा आएर निकै खुशी लाग्यो ”
सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा प्रतिलाख १ सय ४६ जना आमाहरु बच्चा जन्माउने क्रममा मर्ने गर्छन । स्वास्थ्यको पहुँच तथा सुविधाका कारणले बर्षेनी आमाहरुले ब्यहोर्नुपरेको क्षतिलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरु आयोजना हुने गर्छन । भीनपा वडा नं २ का अध्यक्ष विराजमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सुआहारा कार्यक्रमबाट आर्थिक तथा प्राविधक सहयोग गरिएकोे हो ।
सम्मेलनबाट आमाहरुले गर्भअवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषिलो खानेकुरा खाने, ब्यायाम र आराम गर्ने, पारिवारिक सहयोग लिने र आफूले सिकेको कुरा अरुलाई पनि सिकाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्