दोलखा/मूडे– चरिकोट सडक स्तरउन्नतीमा भएको ढिलासुस्ति विरुद्ध भै रहेको संघर्षको कार्यक्रमको क्रममा दोलखाबाट प्रतिनिधित्व गर्ने संघिय एवं प्रदेश सांसदसंग स्थानियले किन सडक स्तरउन्नतीको काममा ढिला भएको ? भन्दै प्रश्न गरेका छन् ।
दुई बर्षमा स्तरउन्नतीको काम सम्पन्न गर्नु पर्ने मूडे– चरिकोट ३० किलोमिटर सडक ६ बर्षमा समेत अलपत्र अवस्थामै रहेपछि स्थानियले दोलखाबाट प्रतिनिधित्व गर्ने संघिय एवं प्रदेश सांसदहरुसंग जवाफ माग गरेका हुन् । संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने संघिय एवं प्रदेश सभाका आठ जना सांसदलाई निमन्त्रण गरिएको भएपनि नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने दुई जना संघिय सांसद र एक जना प्रदेश सांसदकोमात्र सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि पीडित सडक उपभोक्ताहरुको प्रश्नको जवाफ दिने क्रममा नेकपा एमालेका संघिय सांसद एवं पुर्व मन्त्री पार्वत गुरुङले सडक स्तरउन्नतीमा भएको ढिला सुस्तीका कारण दोलखालीले भोग्नु परेको पीडाको आफु साक्षि रहेको र आफु स्वयम पनि पीडितनै भएको उल्लेख गर्नुहुदै जति प्रयत्न गरेपनि ठेकेदारले काम नगरेको गुनासो गर्नु भयो । उहाँले अब जसरी पनि सडक बर्षा अघिनै निर्माण सम्पन्न गर्न आफु लागिपर्ने र जनस्तरबाट भएको संघर्षमा पूर्ण रुपमा साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा समानुपातिक संघिय सांसद शान्ति पाख्रिन र प्रदेश सांसद रचना खड्काले पनि संघर्षमा आफुहरुको पूर्ण साथ रहेको उल्लेख गर्नुहुदै सडक निर्माण बर्षा महिना अघिनै सम्पन्न गराउन आफुहरुले सम्बन्धित ठाँउमा पहल गर्ने बताउनु भयो । संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, वडा नम्बर ७ का वडा अध्यक्ष कैलाश श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष नकुल केसी, वडा नम्बर ९ को वडा अध्यक्ष चित्रबहादुर भुजेल, संघर्ष समितिका सहसंयोजक रमेश खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघर्ष समितिले चरिकोट– मूडे सडक क्षेत्रमा पर्ने भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडामा जिल्ला समन्वय समिति दोलखाका सदस्य जीतबहादुर श्रेष्ठको संयोजकत्वमा १०१ सदसिय वडा स्तरीय संघर्ष समिति गठन गरेको छ भने वडा नम्बर ८ बोचमा युवा समाजसेवी बिष्णु भुजेलको संयोजकत्वमा १०१ सदसिय वडा स्तरीय संघर्ष समिति गठन गरेको छ ।
अब वडा स्तरीय संघर्ष समितिको समेत सहभागिता र समन्वयमा थप संघर्षका कार्यक्रम घोषणा गरिने मूल संघर्ष समितिका सहसंयोजक रमेश खतिवडाले बताए ।
असार– साउन अघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता सहित काम सुरु नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले बताए । संघर्ष समितिले यस अघि पनि ठेकेदारको फोटो सहितको पोष्टर सार्वजनिक यातायातको साधनमा टाँस्ने, शंख जुलुस, एक रुपैया सङ्कलन, साङ्लो जुलुश, आयोजनाको कार्यालयमा तालाबन्दि जस्ता आन्दोलनको कार्यक्रम गरेको थियो ।
एक्जिम बैङ्क अफ इन्डियाको सहयोगमा २०७२ सालमा स्तर उन्नतिको काम सुरु भएको सडक निर्माण दुई बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको थियो । दोलखालीको आन्दोलनकै कारण खाडिचौर– मूडे २५ किलोमिटर सडकको स्तर उन्नतिको काम भने केहि समय अघि सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्