२४ कात्तिक, चरिकोट
नेकपा एमाले दोलखाले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिको टुंगो लगाउन सुरु गरेको छ । आज पार्टी जिल्ला कमिटिको बैठक बसी निर्वाचन प्रक्रिया सुरु गरिएको हो । एमालेले जिल्ला भरका १२ हजार २ सय २ जना संगठित सदस्यहरुमध्येबाट १९ जना प्रतिनिधि छनौट गर्नुपर्ने छ ।
महिला ५, दलित २ र खुला १२ जना प्रतिनिधि छान्न पाइने प्रक्रिया अनुसार निर्वाचन समितिले काम सुरु गरिसकेको छ । नेताहरुले भने भेटघाट, फोन र सामाजिक सञ्जाल मार्फत धमाधम उमेदवारी दिन थालिसकेका छन् । जिल्ला कमिटीले ९ वटा पालिका भूगोलबाट १÷१ जना, खुला ३ जना, महिला ५ र दलित २ जना छनौट गर्नेगरी निर्वाचन कमिटीलाई अख्तियारी दिएको छ ।
मंसिरको १० देखि १२ सम्म चितवनमा सम्पन्न हुने नेकपा एमालेको महाधिवेशनमा प्रतिनिधि छनौटका लागि जिल्ला सल्लाहकार संयोजक शंकरलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

जिल्ला कमिटी बैठकले सकभर चुनाव नगर्ने गरी समन्वयात्मक ढंगले सर्वसम्मत छनौट गर्न केन्द्रीय सदस्य एवं इन्चार्ज पार्वत गुरुङ र वैकल्पिक केन्द्रीय सदस्य रचना खड्कालाई जिम्मेवारी प्रदान गरेको छ । २५ गते बेलुकी सम्म सहमतिको प्रयास गरिने र त्यो सम्भव नभए निर्वाचन प्रक्रियामा लैजाने गरी तयारी भएको अध्यक्ष इश्वरचन्द्र पाखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्