दोलखा/कोरोना संक्रमणको दोस्रो भेरियण्टबाट प्रभावित दोलखाको केहि स्वास्थ्य संस्था र सुरक्षाकर्मी एवं सञ्चारकर्मीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाले हाईड्रोजन÷अक्सिजन जेनेरेटर सहित बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
राप्रपाका केन्द्रीय नेता एवं समाजसेवी सोभित उप्रेतीको पहल तथा समन्वयमा चिनिया कम्युनिष्ट पार्टीले राप्रपालाई उपलब्ध गराएको उक्त स्वास्थ्य सामग्री दोलखाको आठ वटा स्वास्थ्य चौकी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई उपलब्ध गराईएको राप्रपा दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले बताउनु भयो ।
राप्रपा दोलखाले जिल्लाको कालिञ्चोक स्वास्थ्य चौकी, लामिडाँडा स्वास्थ्य चौकी, लापिलाङ स्वास्थ्य चौकी, सुन्द्रावती स्वास्थ्य चौकी, झ्याकु स्वास्थ्य चौकी, मार्वु स्वास्थ्य चौकी, विगु स्वास्थ्य चौकी र सुष्पाक्षमावती स्वास्थ्य चौकीलाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको संयोजक शिवाकोटीले बताउनु भयो ।
संयोजक शिवाकोटीका अनुसार प्रत्येक पत्रिका तथा अनलाईनहरुलाई दुई सय थान मास्क तथा आधालिटर सेनिटाइजर, रेडियोहरुलाई पाँच सय थान मास्क, पाँच लिटर सेनिटाइजर तथा एक थान अक्सी मिटर उपलब्ध गराइएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघ दोलखा शाखालाई पाँच सय थान मास्क र पाँच लिटर सेनिटाइजर उपलब्ध गराइएको छ । नेपाली सेनाको तारादल गणलाई चार हजार थान मास्क तथा १० लिटर सेनिटाइजर उपलब्ध गराइएको राप्रपा दोलखाका अध्यक्ष शिवाकोटीले बताउनु भयो । त्यसैगरी नेपाल प्रहरीलाई पनि मास्क र सेनिटाईजर उपलब्ध गराईएको राप्रपा दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्