बिचार / ब्लगशिक्षा

मैले नबुझेको वाद

जानुका न्यौपाने

आर्दशवाद, परिष्कारवाद, स्वच्छन्दतावाद, यर्थाथवाद, अतियर्थाथवाद, प्रगतिवाद, प्रकृतवाद, प्रतिकवाद, विसङ्गतिवाद, अस्तित्ववाद, आधुनिकतावाद, दादावाद, प्रभाववाद,, घनत्ववाद, भविष्यावाद, प्रयोगवाद, कलावाद आदि धेरै वादहरु छन् । अझ माक्र्सवाद लेनिनवाद, माओवाद, मानवअधिकारवाद, महिलावाद, पुरुषवाद अनि के के वाद हुन् भनि र गनि साध्य छैनन् वादहरु पनि । हुन चाँहि यी सबै वाद हुन कि हैनन् म त छुट्याउन र खुट्याउन पनि नसकेर अलमल्ल परेको छु ।
अहिले हाम्रो समाजमा कुन वाद मौलाएको छ त्यो झन मैले बुझेकै छैन । महिलाको सावलमा दुईचार कुरा बोल्ने वित्तिकै महिलावाद, पुरुषको सवालमा बोल्दैमा पुरुषवाद, मानवअधिकारको सावल बुझ्दैमा र बोल्दैमा मानवअधिकारवाद, थोरैतिना समाजका सामाजिक सवालमा बोल्ने बित्तिकै समाजवाद, जाति जनजातिका बारेमा केही सवाल बुझ्ने र बोल्ने वित्तिकै जातिवाद, माक्र्स र लेनिनको बारेमा लेखिएका पुस्तक पढेर केही बुझ्ने वित्तिकै व्यवहारमा केही पनि नउतार्ने माक्सवाद लेनिनवाद बनिन्छ कि बनिदैन त्यो पनि पत्तो छैन । झन मैले हालसालै हरायो रे भन्ने सुनेर खोजेको आर्दशवाद के हो त्यो ? कहाँ छ ? के लाई र कसलाई कसरी आर्दश मान्ने ?
मैले नबुझेको धेरै वादहरु छन् त्यसमध्येको आर्दशवाद त झन जटिल लाग्न थालेको छ मलाई । आर्दश र वाद यी दुई शब्दका योगबाट बनेको संस्कृत तत्सम शब्द आर्दशवादको शाब्दिक व्युत्पति आदर्शो यथा स्यात् तथा वदनम् अनुसार यसको अर्थ हुन्छ । यसलाई अंग्रेजीमा आइडियालिज्म भनिन्छ । अनि मैले यतिवेला अरु सबै वादहरु मौलाएका बेला हराएको भए आर्दशवाद हरायो रे भन्ने बजार हल्ला सुनेको छु । बजारमा चिया पसलमा यत्रतत्र सर्वत्र आर्दशवान भनेर कसलाई चिन्ने, को हो त तपाईं हाम्रो आर्दश पात्र मान्ने भनेर हराएको आर्दशको खोजी भएको छ ।
आर्दशवाद मान्न तयार हुने हो भने जहाँ निष्ठा, प्रतविद्धता, सहनशीलता, संयमता, चरित्रवान, धर्यता, अनुशासन, विधि, पद्धती, प्रकृया आदि इत्यादि ती सबै बुझेको र सबैलाई बुझाउने क्षमता भएको क्षमतावन हुन्छ । त्यो क्षमता कसले राख्ने ? अब त व्यवसायिक रुपमा जता मल्कु उतै ढल्कुको आहानलाई चरितार्थ गर्नेहरुको भीडमा धेरै लाग्ने रहेछन् । अहिले जसले जुन वादी हुँ भनेर हिड्दा पनि ठीकै हुन्छ भनेर सोचिरहेका छन् । आर्दशलाई त्यसैगरी बुझ्ने र बुझाउने काम भइ रहेको छ । सहज र सरल रुपमा केलाई वाद भन्ने ? के उल्लेखित सबै वाद र वादी हुन त ? मेरो मनमा खुल्दुली मच्चिरहेको छ ।
जसलाई आर्दश मान्यो उसैले आर्दशभाव के हो भनेर बुझेकै पो छै न कि ? हुन त आजभोलि आर्दशका कुरा नगर के हो त्यो आर्दश ? भनेर उल्टै सवाल गर्नेहरुको जमात पनि ठूलै छ । तिम्रो आर्दश तिम्रै खल्तीमा राख भन्नेहरुको संख्या पनि उल्लेख्य छ । अनि त्यस्ता सवाल सुनेर लाग्छ कि मैले कुनै वाद त बुझेको छैन झन आर्दशवाद त कसरी बुझ्नु र को आर्दशवादी भनेर । कोही कसैलाई आर्दशको रुपमा मान्यो भने पनि विश्वास गुम्दो रहेछ । विश्वास नै गुमेपछि कसरी आर्दशको रुपमा लिनु ? हुन त मैले जे देखेर आर्दशवान मानें त्यो देखाउने दाँत मात्र पनि त हुनसक्छ । म आफैं भ्रममा नै रहेछु कि आर्दश के हो भनेर पहिचान गर्न नसक्ने भन्दै प्रति प्रश्न गर्दैछु आफैंलाई ।
कतै आर्दश पनि व्यवसाय गर्न पो गएछ कि बजारतिर आजभोलि ? बजारमा खरीद गर्न पो पाईन्छ कि मैले त्यो बुझेको छैन । आर्दशको खोजी भइरहेको छ यहाँ । जहाँ थुप्रै वादहरु मौलाइरहेका छन् । जहाँ धेरै वादहरुले घर गरिरहेका छन्, धेरैको मनमा डेरा जमाइरहेका छन् । हो त्यसैले होला मैले खोजेको आर्दशवाद गुमनाम भएको । मैले खोजी गरेको आर्दश कहाँ गएर, कहिले, कसरी भेटिने हो ? न इन्तु न चिन्तु भएर आर्दश बिरामी पो भएको छ कि ? यदि बिरामी परेको आर्दश छ भने आर्दशवाद बुझ्नेहरुले उपचार गराउन समयमै ध्यानु दिनु पर्ला कि ? कसले बुझाइदेला मलाई बाँकी बादहरुको बारेमा । अन्य वादहरु भन्दा पहिले आर्दशवादको खोजी निरन्तर रहनेछ ।

सम्बन्धित समाचार