SKIP THIS

NAgarjun
मुख्य समाचारराजनितिसुचना

भ्रष्टाचार नियन्त्रणको लागि पेपर लेस, फेस लेस अभियान

दोलखा/सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना महामारी र पार्टी भित्रैको प्रतिपक्षको अवरोधका बाबजुद सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तर अघि बढाई रहेको दावि गर्नु भएको छ ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम शुभारम्भ अन्र्तगत स्मार्ट दोलखा निर्माण अभियान उद्घाटन गर्नुहुदै सञ्चार तथा सुचना प्रविधि मन्त्री गुरुङले मुलुकको विकास र समृद्धि अभियानकै कार्यक्रम अन्र्तगत देशको हरेक पालिका, सामुदायीक विद्यालय र स्वास्थ्य चौकीहरुमा द्रुतगतिको इन्टरनेट जडान गर्ने र इन्टरनेटका माध्यमबाट स्थानिय सरकार, विद्यालय र स्वास्थ्य चौकीहरुले गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माणको लागि स्मार्ट दोलखा निर्माण अभियान शुभारम्भ गरिएको बताउनु भयो ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमको शुभारम्भ दोलखाबाटै गर्नुको कारणबारे प्रष्टिकरण दिनुहुदै मन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला भएकैले मात्र नभै हिमाली जिल्ला समेत भएकोले स्मार्ट दोलखा निर्माण अभियान कार्यक्रमको नामबाट शुभारम्भ गरिएको र यो अभियान देशको ७७ वटै जिल्लामा सुरु हुने बताउनु भयो ।
उहाँले मन्तव्यकै क्रममा कार्यक्रममा उपस्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र नेपाल टेलिकमका प्रवन्ध निर्देशकलाई आफु मन्त्री रहे वा नरहे पनि कार्यक्रम सबै जिल्लामा सञ्चालन गर्न अनुरोध गर्नु भयो ।
मुलुकमा भ्रष्टाचार अन्त्यको लागि ऐन कानुनमात्र प्रयाप्त नहुने उल्लेख गर्नुहुदै मन्त्री गुरुङले त्यसको लागि पेपर लेस, फेस लेस अभियान आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क अन्र्तगतनै नागरिक एपको परिकल्पना गर्नु भएको र त्यसले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्री गुरुङले बताउनु भयो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री गुरुङले मुलुकमा हुने विकासे कामको ढिलासुस्तीमा ठेक्का प्रणाली दोष रहेको पनि बताउनु भयो । कुनै एउटा कामको लागि एक जनाले ठेक्का पार्ने, उसले पेटिमा अर्कोलाई दिने र पेटिवालाले पनि काम गर्न अर्कैलाई दिने प्रवृत्तिले काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्नुहुदै मन्त्री गुरुङले लामोसाँगु चरिकोट सडकमा भएको ढिलासुस्तीको कारण पनि त्यस्तै रहेको बताउनु भयो । उहाँले मुलुकको द्रुततर विकासको लागि ठेक्का प्रणालीमा सुधार गर्नु पर्ने समेत बताउनु भयो ।
जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको कार्यक्रममा नेकपाका बागमति प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेल, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, शैलुङ गाँउपालिकाका प्रमुख भरत दुलाल, कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामी, बैतेश्वर गाँउपालिकाका प्रमुख छवि लामा, गौरीशङ्कर गाँउपालिकाका प्रमुख स्वयम बहादुर खड्का, दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रवन्धक निर्देशक टैक अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार