दोलखा/कोरोना महामारीका बीच ऐतिहासीक दोलखा सहरमा यो बर्षको खड्ग जात्रा सम्पन्न भएको छ । दोलखाको सांस्कृतिक पहिचान बनेको खड्ग जात्रा प्रर्दशनको लागि दर्शकहरुलाई मास्ककाे प्रयोग तथा खड्गधारी र बाजाबजाउनेहरु बीचको दूरीलाई कडाई गरिएको स्थानिय अग्रज प्रविन प्रधानले बताए ।
पौराणिक कथामा आधारीत यो जात्रा हरेक बर्ष विजया दशमीको टिकाको भोलीपल्ट दोलखा सहरको बिभिन्न टोलमा प्रर्दशन गरीदै आएको छ । खड्ग जात्रा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ । मल्ल कालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको स्थानीय अग्रज प्रविण प्रधानले बताए ।
किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि देवदेवीहरु पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि कालिञ्चोक भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्की दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरे ।
देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीय बृद्धहरु बताउँछन् ।
खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय बृद्धहरुको भनाइ रहेको छ । युद्धको लागि कालिञ्चोक भगवतीसँग सहयोग माग्न देवदेवीहरु जनै पूर्णिमाको अघिल्लो दिन जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएर आई युद्ध सुरु गर्ने परम्परा रहेको छ । काल रात्रिको दिन भीमेश्वर मन्दिरमा चारवटा राँगाको बलि समेत दिने प्रचलन रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्य एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ ‘महिसासुरलाई यातना दिइएको’ मानिन्छ ।
दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा दोलखा सहरको चक्रमण्डप नकछें टोलको बौद्ध चैते, कोर्छें टोल, पिंगल टोलको बालकुमारी मन्दिर हुँदै भीमेश्वर डोबर डबलीमा पु¥याइने र त्यहाँ चार दानवको प्रतीक स्वरुप चार वटा राँगालाई सबैले खड्ग प्रहार गरी मार्ने चलन रहेको छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बृद्धहरु बताउँछन् । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन सहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ । खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।
परम्परागत खड्ग नाचमा बाजा बजाउने र खड्गधारीहरु संगसंगै रहेर नाच्ने प्रचलन भएपनि यो बर्ष कोरोना महामारीको सचेतताका लागि बाजा बजाउने र खड्गधारीहरुले निश्चित दुरी कायम गरेर नाच प्रर्दशन गरेको स्थानिय समाजसेवी भरत प्रधानले बताए । त्यसैगरी र्दशकहरुले पनि खड्गधारीको दर्शन टाढैबाट गर्नु पर्ने र मास्क अनिवार्य लगाउनु पर्ने नियम राखिएको भरत प्रधानले बताए । नियम अनुसार अधिकांश दर्शकले मास्क लगाएको र खड्गधारी तथा बाजा बजाउने बीच निश्चित दूरी कायम गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्