गण्डकीबागमतीसमाचारस्वास्थ्य

बेलायत निवासी नेपालीहरुबाट दोलखालाई अक्सिजन मेशिन सहयोग

दोलखा/कोरोना संक्रमित विरामीहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले बेलायतको नर्दन आयल्याण्डमा बस्ने नेपालीहरुले आर्थिक सङ्कलन गरी नेपालको बिभिन्न जिल्लामा अक्सिजन मेशिन उपलब्ध गराएका छन् ।
गैर आवसिय नेपाली संघ (एनआरएन) यूकेका उपाध्यक्ष नारायण कडेलको पहलमा नर्दन आयरल्याण्ड बस्ने नेपालीहरु बाट पाँच लाख पच्चीस हजार (तीन हजार चार सय एकानब्बे पाउण्ड) सङ्कलन गरी अमेरीकामा बनेको पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेसीन खरीद गरिएको थियो । उक्त मेसीनहरु दोलखा, चितवन र बागलुङको बिभिन्न अस्पतालको लागि पठाईएको एनआरएन यूकेका उपाध्यक्ष नारायण कडेलले बताउनु भयो ।
उच्च प्रविधि युक्त अक्सिजन कन्सन्ट्रेटर मेसीन कोरोना भाईरसका विरामीहरुको लागि अक्सिजन दिन निक्कै प्रभावकारी हुने उपाध्यक्ष कडेलले बताउनु भयो । बेलायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा समेत यस्तै मेशिनहरु प्रयोग भै रहेको कडेलले बताउनु भयो ।
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ घर भै हाल बेलायतको नर्दन आयल्याण्डमा रहनु भएका लक्ष्मण चिमोरीयाको पहलमा दोलखालाई प्राप्त भएको एक थान अक्सिजन कन्सन्ट्रेटर मेसीन शनिवार नेपाल पत्रकार महासंघ दोलखा शाखा मार्फत जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा र सचिव विनिता शिवाकोटीले अक्सिजन मेशिन उपलब्ध गराएकोमा बेलायतको नर्दन आयल्याण्ड निवासी नेपालीहरुलाई धन्यवाद दिनु भएको थियो ।

सम्बन्धित समाचार