बागमतीमुख्य समाचारसमाचार

पहिरो पीडितलाई स्थानान्तरण आवश्यक– मन्त्री गुरुङ

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ५ बनदेथलीका दाजु भाइ रामकुमार र धनकुमार थामी अनिदो भएको धेरै दिन भयोे । गत साउन २० गतेको पहिरोले घर जोखिममा परेपछि उनीहरु पानी पर्नासाथ ९० नाघेको आमालाई कता सार्नु पर्ने हो भन्ने चिन्ताले अनिदो रहन्छन् ।
अहिले पनि पानी परेपछि पहिरो खसीरहन्छ त्यसैले राति राम्रोसंग सुत्नै पाईदैन– रामकुमारले गुनासो गर्दे भने । आफुहरुको अन्यत्र जग्गा नभएकोले पनि बाध्य भएर जोखिममै बस्नु परेको धनकुमार बताउछन् ।
लापिलाङको रानीबनबाट खसेको पहिरोले घट्टे खोलामा पानी थुनिएर भल पस्दा वडा नम्बर ५ को सिलाफारे, पतेलीसिम, देउपुरे थली, काँडाबारी, बुचेको मैदान, भीमसेन थान, मिजार टोल लगायतका झण्डै दुई सय घर उच्च जोखिममा रहेको स्थानिय धनवीर थामीले बताए । साउन २० गतेको पहिरोले आठ घर पुरेको र २० घर बस्नै नहुने अवस्थामा रहेको धनवीरको भनाई छ ।
शुक्रवार पहिरोले उच्च जोखिममा रहेको मैदान लगायतको वस्तीमा पुगेका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पहिरोले उच्च जोखिममा परेको वस्तिहरुलाई सुरक्षित ठाँउमा एकिकृत वस्ति निर्माण गरी स्थानान्तरण गर्न सरकारले सहयोग गर्ने बताए । त्यसको लागि सुरक्षित स्थानको खोजि गर्न मन्त्री गुरुङले गाँउपालिका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकलाई निर्देशन समेत दिए ।
पहिरोले वस्ति उच्च जोखिममा परेपछि मैदानका झण्डै २० घर परिवार नजिकै बारीमा टहरा हालेर बसेका छन् । बालबच्चा सहित टहरामा बसेको उत्तममाया थामी बारीमा टहरा हालेर बस्दा चिसो र दिनदिनै पर्ने पानीले बालबच्चाको विचल्ली भएको बताउछिन् । सरकारले सुरक्षित स्थानमा बस्ने व्यवस्था नगरे आफुहरु हरेक बर्ष बर्षायाममा अनिदो बस्नु पर्ने उत्तममाया बताउछिन् ।
कालिञ्चोक गाँउपालिकाका अध्यक्ष विनकुमार थामीले लापिलाङ वडा नम्बर ५ मैदान लगायतका २६ घर पहिरोले पूर्ण क्षति भएको र एक सय ४७ घर उच्च जोखिममा रहेकोले स्थानान्तरण गर्नु पर्ने बताए ।
शुक्रवार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङसंगै पूर्व पर्यटन मन्त्री एवं नेकपाका नेता आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद एवं नेकपा नेता पशुपति चौलागाई, नेकपा दोलखाका अध्यक्ष एवं तामाकोसी गाँउपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, पूर्व जिविस उपसभापति शिवप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी लगायत पहिरोको जोखिममा रहेको वस्तिको स्थलगत अवलोकनमा पुगेका थिए । सो अवसरमा मन्त्री गुरुङले पहिरो पीडितहरुलाई खाद्यान्न सामाग्री समेत वितरण गरेका थिए ।
लापिलाङका पहिरो पीडितहरुलाई गाँउपालिका लगायत केहि संघ संस्था र व्यक्तिले जस्ता, त्रिपाल जस्ता सामग्री वितरण गरेको छ । तत्कालको लागि पालिका लगायतका संघ संस्थाले वितरण गरेको राहत सामग्री उपयोगी रहेको भएपनि पहिरोले घर पुरेको स्थान र घर नपुरे पनि उच्च जोखिममा रहेको वस्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पहिरो नियन्त्रण महत्वपूर्ण हुने भएकोले त्यसको लागि पहल गर्न पीडितहरुले मन्त्री गुरुङसंग आग्रह गरेका थिए ।

सम्बन्धित समाचार