अन्तरवार्ताबागमतीराजनितिस्वास्थ्य

हामी जनताको काममै छौ – भरत केसी, नगरप्रमुख भीमेश्वर नगरपालिका

भीमेश्वर नगरपालिकामा कोरोनो संक्रमणको जोखिम र प्रभावलाई कसरी नियाल्नु भएको छ ?
विश्व नै कोरोना संक्रमणको जोखिममा लामो समयदेखि आक्रान्त बनीरहेको छ । यसबाट हाम्रो देश अनि हाम्रो नगरपालिका पनि अछुतो छैन् । जिल्ला सदरमुकाम रहेको कारणले अन्य स्थानीय तहभन्दा भीमेश्वर नगरपालिकामा धेरै गतिविधि हुने हुँदा जोखिम त छ नै । जोखिम देखिएकै कारणले नगरपालिकामा पटक पटक लकडाउन गर्नुपरेको हो । यसले जनजीवनमा असर पनि पारेकै छ । तर अहिलेसम्म जति संक्रमितहरु भेटिएका छन्, तीमध्ये अधिकांश भीमेश्वर नगरभन्दा बाहिरका र विभिन्न सिलसिलामा नगरपालिकामा आएकाहरु छन् ।

जनताले भनेजस्तै लकडाउन जारी गरेर तपाईहरु घरभित्रै बसीरहनुभएको छ कि के गर्दै हुनुहुन्छ ?
लकडाउन गरेर हामी चुपचाप घरभित्र बसिरहेका छैनौं । हामी जनप्रतिनिधि भएर विभिन्न समस्याहरुको अनुभव समेत गर्न पाएका छौं । जनताको काम अनुसार आवश्यक पर्दा हामी २४ सैं घण्टा जनताको काममा खटिईरहेका छौं । कसैले कुनै समस्या प¥यो भनेर फोन गर्नुभयो भने राति १२ बजेपनि म त त्यहाँ पुग्ने गरेको छु । अहिलेको कोरोनाको सन्दर्भमा पनि क्वारेन्टाईन, आईसोलेसनको व्यवस्था गर्नदेखि संक्रमित र अन्य नागरिकहरुलाई समेत भेट्न र सान्त्वना दिन विहानदेखि बेलुकासम्मको समय खर्च गर्ने गरेका छौं । कहिलेकाहिँ यसरी मिडियालाई पनि समय दिनैप¥यो ।

कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्दैगर्दा देखिएका चुनौतिहरु के के हुन् ?
कोरोनाको संक्रमणबारे विश्व नै अन्यौलग्रस्त रहेको बेला हामीले पो खासै गर्न सकिने त के छ र । न त यसको खोप छ, न औषधि उपचार नै । हामीले मान्ने भनेकै विश्व स्वास्थ्य संगठन र स्वास्थ्यसँग सम्बन्धित आधिकारिक निकायले तोकेको मापदण्ड जस्तै सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, सेनेटाईजरको प्रयोग गर्ने लगायत हो । यहि कुराको पालना नागरिकलाई गराउन नसक्नु नै पहिलो चुनौति जस्तो लाग्छ । संक्रमणको शंका लागेर स्वाब संकलन गरि रिर्पोको प्रतिक्षामा हुनेहरु समेत घरमै एकान्तबासमा बस्नुपर्नेमा त्यसो नहुँदा समस्या बढ्छ कि भन्ने चिन्ता पनि छ । अर्कोकुरा नागरिकको जनजीवनमा परेको प्रभाव त सबैभन्दा ठुलो चुनौति नै भईहाल्यो ।
तपाईले सरकारी गाडीमा पनि नीजि नम्बर प्लेट राखेर चलाएको र त्यसको दुरुपयोग गरेको भन्ने सूचनाहरु सार्वजनिक भईरहेका छन नि ?
हो मैले रातो नम्बर प्लेटको गाडी नै चढेको छु । सरकारी निकायले रातो र सेतो दुवै नम्बर प्लेटको गाडी राख्न पाउँछन् । जुन गाडिमाथि प्रश्न उठ्यो, त्यो गाडी भीमेश्वर नगरपालिकाकै नाममा खरिद गरिएको हो, न कि भरत केसीको । अहिले पनि खोज्दै जानुभयो भने धेरै स्थानीय तहले रातो नम्बर प्लेटको गाडी प्रयोग गरीरहेका छन् । त्यसको पनि केहि मापदण्ड र सिमाहरु छन् । गोपनियताको मर्मलाई ख्याल गर्दै म अहिले सार्वजनिक गर्न सक्दिन ।
र अर्कोकुरा भरत केसीलाई गाडी चढ्न त्यत्रो रहरको कुरा होईन । मेयर हुनुभन्दा पहिले नै अहिलेकै बराबरको गुणस्तरिय मेरो नीजि गाडि चढेर हिँडी राखेको छु । जहाँसम्म दुरुपयोग भन्ने कुरा छ, मैले नगरपालिकाको कुनै पनि गाडी व्यक्तिगत काममा प्रयोग गरेको छैन् । न त मेरो परिवार वा आफन्तलाई प्रयोग गर्न दिएको छु, न त मेरो व्यक्तिगत काममा लागि प्रयोग गरेको छु । त्यसो गर्दा कसरी दुरुपयोग हुन्छ ? अझ मैले अफिस टाईमभन्दा विहान बेलुका पनि प्रयोग गरेको छैन् । कहिलेकाहिँ फिल्डमा अनुगमन वा कुनै कार्यक्रममा जाँदा आउँदा विहान बेलुका प्रयोग भएको छ । कहिँ दुरुपयोग भएको पाईए ठाउँका ठाउँ जो कोहि नागरिकले मलाई समातेर कारबाही प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ ।

अर्कोकुरा भीमेश्वर नगरपालिकाले प्रदेशसभा सांसद पशुपति चौँलागाँईले दिएको सांसद विकास कोषको पैसा पनि हिनामिना भएको कुरा के हो ?
गत आर्थिक बर्षमा सांसद विकास कोषबाट प्राप्त पैसाबाट खोरथली सामुदायिक वनभित्र खुल्ला चिडियाखानाको निमार्णका लागि आवश्यक व्यवस्थापन गरिको हो । यसपालीको मनसुन छिट्टै सक्रिय भएर पानी परिरहँदा समयमै कार्यसम्पन्न नभएको हो । भएको कामको मात्र मुल्यांकन गरेर भुक्तानी दिँदा केहि पैसा प्रदेशमा फिर्ता पठाउनुपर्ने भयो र यता काम पनि अधुरो । त्यसो हुँदा हामीले कार्यसम्पन्न गर्न उपभोक्ता समितिलाई केहि समय दिने तर भुक्तानी दिएको पैसा कार्य सम्पन्न भए बराबरको उपभोक्ता समितीले निकाल्न मिल्ने तर बाँकी पैसा कार्य सम्पन्न गरेपछि मात्र निकाल्न मिल्ने गरी नगरपालिकाले रोक्का गरीरखेको छ । म्याद थपको कुरा पनि प्रदेश सरकारले नै ६ महिनासम्म म्याद थप्न सकिने भन्ने कुरा आएपछि हामीले त्यसो गरेका हौं । अहिले काम भईरहेको छ । यसो गर्दा कसरी हुन्छ हिनामिना ?

प्रस्तुतिः तारा विएम

सम्बन्धित समाचार