बागमतीमुख्य समाचारराजनितिसमाचार

पुनः मतदान शान्तिपूर्ण, बेलुका नौ बजेबाट मत गणना

दोलखा/दोलखाको चार मतदान केन्द्रमा विहिवार भएको पुनः मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । चार मतदान केन्द्रमा लगभग ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भयो ।
बैतेश्वर २ गैरीमुदी मतदान केन्द्र र तामाकोशी ३ जफे मतदान केन्द्रमा मतदान स्थल बाहिर भने सामान्य विवाद भएको स्थानीयले बताएका छन् । प्रदेश १ का गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले आफु गैरीमुदी मतदान केन्द्रमा पुग्दा एमाले कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरी आफ्नो गाडिको सिसा फुटाएको आरोप लगाउनु भयो । त्यस लगतै गठबन्धनका कार्यकर्ताहरुले तामाकोशी ३ जफे मतदान केन्द्रमा प्रदेश १ का एमाले उम्मेदवार नरबहादुर श्रेष्ठलाई समेत ढुङ्गामुढा गरेका थिए । आफुलाई गठबन्धनका कार्यकर्ताहरुले ढुङ्गामुढाको प्रयास गरेको श्रेष्ठले बताउनु भयो ।
गठबन्धन दलले जिल्लाको आठ वटा मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप सहित मंसिर ४ गते साँझनै नेकपा एमाले दोलखाले मुख्य निर्वाचन अधकृतको कार्यालयमा उजुरी गरेको थियो । एमालेको उजुरी पछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदसिय छानविन टोलि दोलखा पठाएको थियो ।
छानविन टोलिको प्रतिवेदन तथा सिफारीस अनुसार निर्वाचन आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई १५ गते भित्र दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर २ को जनज्योती माध्यामिक विद्यालय मतदान केन्द्रको क र ख दुई वटा, वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रको क, ख र ग तीन वटा, वडा नम्बर ६ बैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्रको क, ख र ग तीन वटा तथा तामाकोशी गाँउपालिका वडा नम्बर ३ को हेल्थपोष्ट भवन जफे मतदान केन्द्रको क र ख दुई वटा गरी १० वटा बुथमा पुनः मतदान गर्न निर्देशन दिएको थियो ।
निर्वाचन आयोगको निर्देशन पछि मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले मंसिर १२ गते बैठक बसी मंसिर १५ गते विहिवार पुनः मतदान गर्ने निर्णय गरेको थियो । पुनः मतदान भएको चार वटा मतदान केन्द्रमा आठ हजार पाँच सय १४ जना मतदाता रहेकोमा चार हजार दुई सय ५७ मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।
बैतेश्वर गाँउपालिका वडा नम्बर दुई गैरीमुदीको जनज्योती माध्यामिक विद्यालय पुतलिकाठ मतदान केन्द्रमा एक हजार नौ सय ३४ मतदाता रहेकोमा नौ सय ५५, वडा नम्बर ३ कालीढुङ्गा मावि मतदान केन्द्र मिर्गेमा दुई हजार छ सय ६६ मतदाता रहेकोमा एक हजार दुई सय ३८, वडा नम्बर ६ बैतेश्वर माध्यामिक विद्यालय नाम्दु मतदान केन्द्रमा दुई हजार चार सय ७२ मतदाता रहेकोमा एक हजार दुई सय ३४ र तामाकोशी गाँउपालिका वडा नम्बर ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रमा एक हजार चार सय ८३ मतदाता रहेकोमा आठ सय ३० मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भयो ।
पुनः मतदान भएको चार मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न चार सय बढी सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको थियो । मतदान केन्द्रमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा रहेको थियो । मतदाताहरुलाई अवरोध नहोस र अन्यत्रबाट गैर मतदाता नाउनु भनेर मतदान स्थलका गौडाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको चेकिङ राखिएको थियो भने नेपाली सेनाले मतदान केन्द्र आसपासका स्थानहरुमा गस्ती गरेको थियो ।
बेलुका नौ बजेबाट मतगणना
पुनः मतदान भएका केन्द्रहरुमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएपछि बसेको सर्वदलिय बैठकले आज बेलुका नौ बजेबाट मतगणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनु भयो ।
आज प्रत्येक्ष निर्वाचन भएको प्रतिनिधि सभा र दुई प्रदेश सभाको मतगणना हुने र भोली विहानबाट समानुपातिकको समेत मत गणना गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार