जिलूका बलिया उम्मेदवार भीम केसी, प्रतिस्पर्धी निकै कमजोर

आसन्न स्थानीय तहको निर्वाचनका लागि भीनपा ४ जिलूमा भीम केसीले नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

जिलूमा एमालेको राम्रो संगठन र उम्मेदवार पनि बलियो पाएका हिसाबले सजिलै निर्वाचन जितिने एमालेका वडा कमिटी अध्यक्ष झमक बस्नेतले जानकारी दिए।

अघिल्लो निर्वाचनमा जिल्लास्तरमा तालमेल गरेपनि जिलूमा कांग्रेस र माओवादीका फरक फरक उम्मेदवार थिए।
तर, यसपटक एमालेको संगठन झनै बलियो भएको र उम्मेदवार पनि शक्तिशाली भएका कारण नेपाली कांग्रेसले तालमेलका नाममा वडाध्यक्षको उम्मेदवारी माओवादीलाई सुम्पिएको छ।

‘तै जित्न सकिन्छ कि भनेर कांग्रेसले माओवादी नगर कमिटीका नेतालाई बोलाएर अध्यक्ष उठ्न आग्रह गरेर तालमेल गरेको छ, तर सम्भावना छैन,’ एमालेका वडा सचिव गोविन्द सापकोटाले भने।

निर्वाचनमा बलियो उम्मेदवार ल्याउनुपर्छ भनेर एमालेले पनि निजामति सेवामा कार्यरत भीम केसीलाई जागिरबाट छुटाएर गाउँमा ल्याएको हो।

निर्वाचन जित्नुमात्रै ठूलो कुरा हैन जितिसकेपछि वडामा विकासका राम्रा योजना ल्याउने र तिनलाई लागूपनि गर्नसक्ने खुबी भएको नेता छानेर उठाएको एमाले नेता बलराम श्रेष्ठ बताउँछन्।

भीम केसी विसं २०४६ सालदेखि नेकपा एमालेको सदस्यता लिएर निरन्तर कम्युनिष्ट आन्दोलनमा सरिक भएका छन्।

सरकारी सेवामा रहेर पनि विसं २०४९ सालमा एमाले निकट नेपाल निजामति कर्मचारी संठगनको जिल्ला कार्यसमिति सचिव हुदै ५१ र ५३ सालमा दुइपटक कर्मचारी संगठन दोलखाको जिल्ला अध्यक्ष भएर रचनात्मक काम गरे।

त्यस्तै ५६ सालमा संगठनकाे केन्द्रीय सदस्य, ६७ देखि ६९ सम्म पेशागत महासंघको केन्द्रीय सदस्य र ६९ देखि हालसम्म पेशागत विशेष जिल्ला कमिटीको इलाका सचिव तथा सल्लाहकारका रुपमा काम गर्दै आइरहेका छन्।

विसं २०२२ सालमा जिलूकाे सामान्य कृषक परिवारमा जन्मेका केसीले सर्व मावि जिलूबाट आफ्नो अध्ययन सुरु गरी रत्नराज्य क्याम्पस काठमाडौंबाट प्रवीणता प्रमाण पत्र तह पूरा गरेका छन्।

माध्यमिक शिक्षा वैत्यश्वर माविमा पढ्दै गर्दा अनेरास्ववियूको राजनीतिमा लागेका उनी रत्न राज्यमा पुग्दा पनि अखिलको राजनीतिमा निरन्तर खारिएर लागिरहे।

विद्यार्थीकाल र आफ्नो पेशाको अवधीमा रहँदा पार्टीलाई निरन्तर सेवा र सहयोग गरिरहेका केसी लामो निजामति सेवा अवधीमा निष्कलंक कार्यसम्पादन गरेका कर्मचारी हुन्।

उनको काममा कसैले औँलो ठड्याउन सकेका छैनन्।

क्षमतावान र कार्यअनुभवी भएका हिसाबले उनले वडामा निकै राम्रो काम गरेर देखाउँन सक्छन् भन्ने वडाबासीको अपेक्षा छ।


केसी भन्छन् ‘जिलूमा कृषि, पर्यटन र समग्र विकासको लागि सेवा गर्ने उद्देश्यले गाउँ फर्केको छु, गाउँबासीको सेवाका लागि हाजिर भएको छु, सबैले यो मौका प्रदान गरिदिन अनुरोध पनि गर्दछु, वास्तवमै जिलूको मुहार फेर्नेगरी एमालेले बनाएको योजना लागू गर्नेछु।’

सम्बन्धित समाचार