मुख्य समाचारराजनितिसमाचार

प्रधानमन्त्री देउवा चुनावको विपक्षमा छैनन् – एमाले नेता पोखरेल

दोलखा/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गरेका छन् । उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन ? भनेर बहस र छलफल हुनु नै दुःखद् भएको उल्लेख गरेका छन् । उनले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत गराए ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,“ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ, यो आशंका मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ । खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुन्छ ?”
उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे । उनले भने,“शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।”
उनले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउनेगरि वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि सुनाए । निर्वाचन आयोगले चुनावको मिति पनि तय गरिसकेको उल्लेख गर्दै त्यही मितिमा नै चुनाव गराउन सरकारसमक्ष उनको आग्रह थियो । संघीयता कार्यान्वयनको लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएको पोख्रेलको भनाई थियो ।
उनले कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गरे । उनले एमाले राष्ट्रियताको लागि अनि संविधान कार्यान्वयनको लागि लडेको पार्टी भएको उल्लेख गरे । उनले एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि सुनाए । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरु सडक संघर्षमा जान बाध्य हुने पनि उनले चेतावनी दिए ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्नपनि उनले आग्रह गरेका छन् ।
उनले भने,“नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ । जस्तोसुकै कठिन परिस्थितमिा कांग्रेसले निर्वाचन सम्पन्न गरेको ईतिहास छ । मुलुकमा निर्वाचन हुँदैन् कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भएपनि निर्वाचन गराएको ईतिहास छ । मुलकुमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निश्पक्ष निर्वाचन भएको छ ।”

सम्बन्धित समाचार