बागमतीमुख्य समाचारराजनिति

पुनस्थापना पश्चात नेकपा एमाले दोलखाको पहिलो बैठक बैशाख १४ मा, के के छन् एजेन्डा

१३ बैशाख, चरिकोट
सर्वोच्च अदालतले नेकपा एमालेको पुनस्थापना गरेपछि एमालेको केन्द्रीय कमिटीले १० औँ महाधिवेशन आयोजक कमिटी बनाएर सांगठानिक गतिविधि सुरु गरिसकेको छ । केन्द्रको निर्देशन अनुरुप नै प्रदेश र जिल्लाका भेला, बैठक र सभाहरु धमाधम भैरहेका छन् ।

यसैबीच केन्द्र र प्रदेशको सर्कुलर बमोजिम नेकपा एमाले दोलखाले पनि पहिलो बैठक बोलाएको छ । पार्टीभित्र गुटगत गतिविधिहरु बढिरहेका बेला बोलाइएको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

बैठकले जिल्ला अधिवेशन आयोजक कमिटीको घोषणा, जिल्लाका नेताहरुको कार्यविभाजन, स्थानीय तहका अध्यक्ष र सचिव घोषणा, वडा तहहरुको जिम्मेवारी घोषणा र जिल्लामा कोरोना संक्रमणको ब्यवस्थापन लगायतका बिषयहरुमा छलफल हुने अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनु भयो ।

साथै पोखरेलले जिल्ला कमिटीमा रहेका केही नेताहरुले सार्वजनिक रुपमै पार्टीका बिषयमा ब्यक्त गरेका असन्तुष्टीहरलाई बैठकमै आएर राख्न र सोका बिषयमा छलफल गर्न आग्रह गरिएको पनि जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेका वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल, दोलखा जिल्ला इन्चार्ज एवं सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

नेकपा एमाले वागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा बैठक, विस्तारित बैठक, प्रशिक्षण कार्यक्रम, संगठन निर्माण लगायतका कार्यक्रमहरु भैरहेको सन्दर्भमा दोलखा जिल्लामा पनि यो बैठक राखिएको वागमती प्रदेश कमिटिका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार