दोलखा/दोलखाको उच्च पहाडी भेग प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा हिमपात सुरु भएको छ । विहिवार दिउँसो तीनबजे बाट हिमपात सुरु भएको कालिञ्चोक मन्दिर प्रवेश क्षेत्र कुरीका होटल व्यवसायी विमल ओझाले बताए ।
यो बर्ष पहिलो पटक गतमाघ २४ गते कालिञ्चोक क्षेत्रमा हिमपात भएको थियो । यो बर्षको दोस्रो पटक बुधवार बेलुका केहि समय हिमपात भएर रोकिएको थियो भने विहिवार दिउँसोबाट पुनः हिमपात सुरु भएको कुरीमा रहेको होटल सुनपातिका मेनेजर समेत रहेका होटल व्यवसायी ओझाले बताए । कालिञ्चोक क्षेत्रमा झण्डै आधा फिट हिउँ परेको ओझाको भनाई छ ।
बुधवारबाट हिमपात सुरु भएपछि अहिले कालिञ्चोकको कुरीमा रहेको सबै होटलहरु बुक भएको ओझाले बताए । कोरोनाका कारण झण्डै एक बर्ष ठप्प रहेको कालिञ्चोक तथा दोलखा सदरमुकाम चरिकोट, दोलखा बजार लगायत पर्यटकीय क्षेत्रका होटलहरु धमाधम बुक हुन थालेका छन् । कुरीमा मात्र साना ठूला गरी ६० भन्दा बढी होटल रहेको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताए ।
हिमपातका कारण कालिञ्चोक मन्दिर तथा आसपासका डाँडाहरु सेताम्य भएको स्थानियले बताएका छन् । हिमपातले केहि समय कालिञ्चोकमा यातायात आवागमनमा समस्या देखिएको भएपनि बेलुका देखि यातायात सुचारु भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताएका छन् ।
दोलखा र सिन्धुपाल्चोक को सिमाना मूडे र खररिढुङ्गा क्षेत्रमा पनि विहिवार बेलुका देखि हिमपात भै रहेको तर यातायात भने अवरुद्ध नभएको प्रहरी नायव उपरीक्षक रिजालले बताए । दोलखाको शैलुङ क्षेत्रमा पनि हिमपात भै रहेको स्थानियले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्