दोलखा/ भीमेश्वर नगरपालिका–२, दोलखास्थित भीम माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८२/८३ को सामाजिक परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको समग्र गतिविधि, आर्थिक पारदर्शिता तथा शैक्षिक अवस्थाबारे सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो।
शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शेरबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सामाजिक परीक्षण प्रतिवेदन प्राविधिक उपसमितिका संयोजक अजय प्रधानले प्रस्तुत गरेका थिए। समितिका सदस्य तथा बुद्धिजीवी नरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विभिन्न दाताद्वारा विद्यार्थीलाई छात्रवृत्ति, पुरस्कार र पोशाक सामाजिक परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षाप्रेमी, समाजसेवी तथा विभिन्न दाताहरूको सहयोगमा विद्यार्थीलाई छात्रवृत्ति, पुरस्कार र विद्यालय पोशाक वितरण गरिएको थियो। इन्जिनियर प्रेमबहादुर थापा छात्रवृत्ति: भीमेश्वर नगरपालिका–३ स्थित वुड्स रिसोर्टका सञ्चालक, शिक्षाप्रेमी तथा समाजसेवी इन्जिनियर प्रेमबहादुर थापाले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा २०७३ सालदेखि प्रदान गर्दै आएको जेहेन्दार छात्रवृत्ति यस वर्ष पनि वितरण गरेका छन्। उनले २० जना विद्यार्थीलाई जनही २ हजार ५०० रुपैयाँका दरले कुल ५० हजार रुपैयाँ प्रदान गरेका हुन्। स्व. नारायणबहादुर तथा स्व. हेमकुमारी श्रेष्ठ स्मृति छात्रवृत्ति: भीमेश्वर नगरपालिका–३, चरिकोटका स्थायी बासिन्दा तथा व्यवसायी ध्रुवकुमार श्रेष्ठले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा २०८१ सालदेखि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष १० जना विद्यार्थीलाई जनही २ हजार ५०० रुपैयाँका दरले कुल २५ हजार रुपैयाँ वितरण गरेका छन्। अधिवक्ता सुब्बा श्रेष्ठ अक्षयकोष पुरस्कार: समाजसेवी तथा शिक्षाप्रेमी अधिवक्ता सुब्बा श्रेष्ठद्वारा स्थापित अक्षयकोषको ब्याजबाट पाँच जना उत्कृष्ट विद्यार्थीलाई जनही एक हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ।
विद्यार्थीलाई विद्यालय पोशाक वितरण: भीमेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल अमेरिकामा बसोबास गर्दै आएका सन्जीव श्रेष्ठको सौजन्यमा कक्षा १ देखि ५ सम्मका ८१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। अम्बरबहादुर कार्की उत्कृष्ट पुरस्कार: समाजसेवी तथा वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठको तर्फबाट स्थापित ‘अम्बरबहादुर कार्की उत्कृष्ट पुरस्कार’ बाट विद्यालयकी शिक्षिका सुजाता मास्केलाई नगद ७ हजार ५०० रुपैयाँसहित सम्मान गरिएको छ। विद्यालयको शैक्षिक विकास, विद्यार्थीको प्रोत्साहन तथा सामाजिक उत्तरदायित्वमा योगदान पुर्याउने सम्पूर्ण दाता तथा सहयोगीप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। यस्ता सहयोगले विद्यार्थीलाई अध्ययनप्रति प्रेरित गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। ‘को भन्दा को कम’ प्रतियोगिता र सांस्कृतिक कार्यक्रम कार्यक्रमकै अवसरमा आसन्न दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘को भन्दा को कम’ नामक विद्यार्थीमैत्री प्रतियोगिता आयोजना गरिएको थियो।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। विद्यार्थीको सिर्जनशीलता, प्रतिभा र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। विद्यालयको सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, विद्यार्थी सम्मान तथा सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्