दोलखा/विश्व रेविज दिवसको सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले नेपाल एनिमल वेलफियर एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा सप्ताहव्यापी रुपमा कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
विशेषगरी सामुदायीक कुकुरहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा एक सय ४० वटा कुकुरको बन्ध्याकरण गरिएको र ती कुकुरहरुलाई रेविज विरुद्धको खोप समेत लगाईएको भीमेश्वर नगरपालिकाका नायव पशुसेवा प्राविधिक शङ्कर प्रसाद पाठकले बताए ।
सामुदायीक कुकुरहरुको जनसंख्या बढ्दै जादा त्यसले रेविज रोगको जोखिम बढाउने भएकोले भीमेश्वर नगरपालिकाले हरेक बर्ष नेपाल एनिमल वेलफियर एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा सामुदायीक कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको नगरप्रमुख इश्वर नारायण मानन्धरले बताए ।

अभियानको क्रममा ८६ वटा भाले कुकुर र ५४ वटा पोथी कुकुरको बन्ध्याकरण गरी ती कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईएको भीमेश्वर नगरपालिकाका नायव पशुसेवा प्राविधिक पाठकले बताए । बन्ध्याकरण गरिएको र रेविज विरुद्धको खोप लगाईएका कुकुरहरु मध्य केहीलाई आवश्यकताको आधारमा लुतोको इन्जेक्सन र औषधि सहित प्रयोग गरिएको नेपाल एनिमल वेलफियर एण्ड रिर्सच सेन्टरले जनाएको छ ।
अभियानको क्रममा सदरमुकाम चरिकोटको बजार क्षेत्र सहित वडा नम्बर– २, ३, ४, ५, ६ र ७ का सामुदायीक तथा केही घरपालुवा कुकुरहरु को बन्ध्याकरण गरिएको पाठकले बताए ।

कृषि तथा पशुपंक्षि विकास कार्यालयको अभियान
विश्व रेविज दिवसकै अवसरमा कृषि तथा पशुपंक्षि विकास कार्यालय चरिकोटले पनि सदरमुकाम चरिकोटको बजार क्षेत्रमा रहेका सामुदायीक कुकुर तथा विरालो र नियमित रुपमा डिस्पेन्सरीमा आउने कुकुर तथा विरालोलाई निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाएको पशु चिकित्सक डा. मदन भण्डारीले बताए ।
अभियानको क्रममा कुकर तथा विरालोलाई जुका र लुतो रोग विरुद्धको खोप समेत लगाईएको डा. भण्डारीले बताए ।
कार्यालयले विश्व रेविज दिवसको अवसरमा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माविका कक्षा– ९ का ७९ जना विद्यार्थीलाई रेविज रोगबारे जानकारी गराईएको डा. भण्डारीको भनाई छ । विशेषगरी बाल– बालिका र विद्यार्थी रेविज रोगको जोखिममा बढी पर्ने भएकोले स्कुलका विद्यार्थीलाई मध्यनजर गरी विद्यालयमा रेविज रोग विरुद्धको सचेतनामूलक कार्यक्रम आयोजना गरिएको डा. भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्