दोलखा/दोलखाको बैतेश्वर गाउँपालिकाले नागरिकलाई भूमीसंग सम्बन्धित मालपोत र नापीको सेवा पालिकाबाटै उपलब्ध गराउने उदेश्य सहित सोमवारबाट भूमी व्यवस्थापन शाखा सञ्चालन गरेको छ । दोलखामा भूमी व्यवस्थापन शाखा पालिका स्तरमा सञ्चालन गर्ने बैतेश्वर गाउँपालिका पहिलो भएको छ ।
भूमी व्यवस्थापन शाखाको उद्घाटन गर्दै पालिका अध्यक्ष छवि लामाले नागरिकलाई आफ्नै पालिकाबाट भूमी सम्बन्धि सबै सेवा प्रदान गर्न सकियोस भन्ने उदेश्यले शाखा सञ्चालन गरिएको बताए ।
बैतेश्वर गाउँपालिकामा राष्ट्रिय– अन्तराष्ट्रिय स्तरका बिभिन्न सहकारी संस्थाहरु समेत रहेकोले भूमी सम्बन्धि काम धेरै हुने भएपछि पालिकाले भूमी व्यवस्थापन शाखा सञ्चालन गरेको अध्यक्ष लामाले बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि भूमी व्यवस्थापन शाखाबाट प्रदान गरिने काम नरोकीने प्रतिवद्धता समेत जनाएका छन् ।
बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन खनालले नागरिकको भूमी सम्बन्धि अभिलेख सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौतीको विषय भएकोले शाखामा कार्यरत कर्मचारीहरुले सजग र संवेदनसिल भएर काम गर्नुपर्ने बताए ।
पालिकामा भूमी व्यवस्थापन शाखा सञ्चालन भएपछि नागरिकले विगतमा पालपोत र नापी कार्यालयबाट लिदै आएको सम्पुर्ण सेवा पालिकाबाटै प्राप्त गर्ने जनाईएको छ ।

शाखा उद्घाटन कार्यक्रममा बैतेश्वर गाउँपालिकाका उपप्रमुख कल्पना उप्रेती, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, पालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष श्यामकुमार तमाङ, भूमी प्रशासन कार्यालय दोलखाका एकलाल तमाङ, अर्जुन प्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो ।
पालिकामा भूमी व्यवस्थापन शाखा सञ्चालन गर्न भूमी प्रशासन कार्यालय दोलखाका एकलाल तमाङ र अर्जुन प्रसाद चौलागाईले शाखामा काम गर्ने कर्मचारीहरुलाई अनलाईन सेवा प्रवाह सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्